ad ad

समाज


नेपालमा कोरोनाबाट मृत्यु हुनेमध्ये सक्रिय उमेरका सबैभन्दा बढी

नेपालमा कोरोनाबाट मृत्यु हुनेमध्ये सक्रिय उमेरका सबैभन्दा बढी

सागर न्यौपाने
भदौ १५, २०७७ सोमबार १०:४७,

नेपालमा कोरोना संक्रमणबाट सबैभन्दा बढी काम गर्न सक्ने उमेरकै मानिसहरुको ज्यान गएको छ।

आइतबारसम्म ज्यान गुमाउनेहरुको तथ्यांक हेर्दा सबैभन्दा बढी ४० देखि ६० वर्षबीचका मानिसको मृत्यु भएको छ।

आइतबारसम्म कुल २ सय २१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। जसमध्ये ८६ जना ४० देखि ६० वर्ष उमेर समूहका छन्।

यो उमेर समूहमा महिलाको तुलनामा झण्डै चार गुना बढी पुरुषको मृत्यु भएको छ। अर्थात् ज्यान गुमाउने यो उमेर समूहका ८६ जनामध्ये ६८ जना पुरुष र १८ जना महिला छन्।

यो उमेरलाई नेपालमा सक्रिय रुपमा काम गर्ने समूहका रुपमा लिइन्छ।

त्यसैगरी ज्यान गुमाउनेमध्ये ४० वर्षमुनिका ४३ जना छन्।

ज्यान गुमाउनेमध्ये सक्रिय उमेरका मानिसहरुको यो अनुपात अन्य मुलुकको तुलनामा धेरै बढी रहेको जानकारहरु बताउँछन्।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले नेपालमा अनपेक्षित रुपमा युवाको मृत्यु हुन थालेको बताए। उनले काम गर्ने उमेर समूहका धेरैको मृत्यु हुनुमा स्वास्थ्य संरचनाको दोष रहेको बताए।

‘अन्य देशको तुलनामा नेपालमा अनपेक्षित रुपमा युवाको मृत्यु भइरहेको छ,’ डा. सुवेदीले नेपालखबरसँग भने, ‘हाम्रो देशका विभिन्न जिल्लामा (वीरगञ्ज) लगायतमा स्वास्थ्य संरचनाले नै थेग्न नसकेर हो। पर्याप्त मात्रामा आईसीयू, भेन्टिलेटर भएनन्। आईसीयूमा बस्नुपर्ने बिरामी घरमै बस्नुप¥यो। स्वास्थ्य संरचना चुस्त नभएपछि मृत्यु नहुनुपर्ने मान्छेको पनि मृत्यु हुन गयो।’

त्यसो त नेपालमा कोरोनाबाट युवा समूह नै बढी संक्रमणको चपेटामा परेको छ।

‘तर, निश्चित कार्यविधि कार्यान्वयन नगर्दा र कति बिरामीले उपचार नै नपाएर पनि मृत्यु भएको हुनसक्छ,’ डा. सुवेदीले थपे।

दोस्रो धेरै मृत्युदर ६० देखि ७० वर्षबीचको उमेर समूहमा देखिएको छ।

आइतबारसम्मको तथ्यांक हेर्दा यो उमेर समूहका ३१ जना पुरुष र १६ जना महिला गरेर ४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। यो उमेरका मानिसलाई कोरोनाले बढी प्रभावित पार्ने डाक्टरहरु बताउँछन्।

यस्तै ७० देखि ८० वर्ष उमेर समूहका २४ जना पुरुष र ७ जना महिला गरी ३१ जनाको मृत्यु भएको छ।

अहिलेसम्म ८० वर्ष माथिका १४ जनाको मृत्यु भएको छ। त्यसमा पनि पुरुषको संख्या सबैभन्दा बढी ११ जना छ भने महिला ३ जना छन्।

३० देखि ४० वर्ष उमेर समूहका २१ जनाको मृत्यु भएको छ। जसमा पुरुष १६ र महिला ५ जना छन्।

२१ देखि ३० उमेर समूहका ९ पुरुष र ४ महिला गरी १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए।

११ देखि २० वर्षबीचको उमेर समूहका ५ जनाको ज्यान गएको छ, जसमा ३ जना महिला र २ पुरुष छन्।

१० वर्षमुनिका ४ जनाको मृत्यु भएको छ। जसमा २ जना महिला छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .