समाज


भारतबाट आएकालाई सिधै घर पठाउँदा सुदूरपश्चिममा गाउँ-गाउँ पुग्यो संक्रमण

भारतबाट आएकालाई सिधै घर पठाउँदा सुदूरपश्चिममा गाउँ-गाउँ पुग्यो संक्रमण

गोकुल जोशी
भदौ १४, २०७७ आइतबार १४:४५,

भारतबाट फर्किएकाहरुलाई व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिममा कोरोना संक्रमित दिन–प्रतिदिन बढ्दै गएका छन्। भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा सुदूरपश्चिममा संक्रमण फैलिरहेको चिकित्सकहरुले बताएका छन्।

भारतबाट आउँदा नाकामा कुनै स्वास्थ्य परीक्षण नगरी प्रवेश गराइएको र क्वारेन्टिनमासमेत नराख्दा भयावह बन्ने जोखिम बढेको उनीहरुको विश्लेषण छ।

भारतबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राख्नु पर्ने भए पनि पछिल्लो समय त्यसो नभएकाले संक्रमणको जोखिम बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले बताए।

‘भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी होम क्वारेन्टिनमा पठाउँदा संक्रमण जताततै फैलिएको छ। जोखिम अहिले एकदमै बढि छ’ उनले भने, ‘भारतबाट आउनेलाई व्यवस्थापन गर्न सकिएन भने संक्रमण भयावह हुन सक्छ।’

कोरोना परीक्षणको दायरा बढाएर तत्काल संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्नेमा उनले जोड दिए।

‘कोरोना परीक्षणको दायरा फराकिलो बनाउनु अहिलेको आवश्यकता हो। संक्रमितको सम्पर्क आएकाहरुको तत्काल परीक्षण गरेर संक्रमण थप फैलिनबाट जोगाउनु पर्छ’ उनले भने।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले भारतबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्न स्थानीय तहलाई पत्राचार गरेको छ। भारतसँग खुला सीमा जोडिएको सुदूरपश्चिम सुरुदेखि नै जोखिममा छ। भारतमा रोजगारीका लागि गएका मानिसहरु स्वदेश फर्किने क्रम रोकिएको छैन। दैनिक एक/दुई सय मानिस भारतबाट स्वदेश फर्किरहेका छन्।

प्रदेशभर झण्डै एक हजार मानिस क्वारेन्टिनमा छन्। भारतबाट आउने नागरिकलाई होम क्वारेन्टिनका नाममा सिधै घरमा पठाउँदा स्थितिले बिकराल रुप लिन थालेको हो। होम क्वारेन्टिनमा बस्ने सर्तमा पठाइएकाहरु गाउँमा खुल्लेयाम घुम्न थाले पछि संक्रमण गाउँ–गाउँमा पुगेको छ।

सुरुमा सिमनाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइन्थ्यो। त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइन्थ्यो। तर अहिले भने परीक्षण बिना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाइँदै छ।

त्यसैले गर्दा सुदूरपश्चिमका विभिन्न ठाउँमा समुदायस्तरमा नै संक्रमण देखिएको छ। स्थानीय तहको लापरबाहीले कोरोना संक्रमण बढिरहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्। स्थानीय तहहरुले भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउदा संक्रमण तीव्र फैलिएको उनको दाबी छ।

‘क्वारेन्टिनमा राख्न भनियो तर पछिल्लो समय त्यस्तो गरिएन। अब सरकारले मात्र केही गर्न सक्दैन। सर्वसाधारण पनि सजग हुनु पर्ने बेला हो’ उनले भने।

प्रदेशभरमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ५४ पुगेको छ। सबैभन्दा बढि कैलालीमा १ हजार ६ सय ९९, डोटीमा ९ सय २२, अछाममा ८ सय ९९, कञ्चनपुरमा ६ सय ७९, बाजुरामा ४ सय ५२, बझाङमा ३ सय ७०, बैतडीमा ३ सय ६९, डडेल्धुरामा ३ सय १६ र दार्चुलामा ४८ संक्रमित छन्। तीमध्ये ४ हजार ९ सय २९ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा बिगतभन्दा अहिले कोरोना परीक्षणको दायरा फराकिलो भएको छ। कैलालीको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा उप–क्षेत्रीय अस्पताल र जिल्ला अस्पताल डोटीबाट कोरोना परीक्षण भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .