समाज


कोरोना परीक्षणमा मनपरी शुल्क : ५ सयदेखि ७५ सयसम्म उठाउँदै राजधानीका अस्पताल (सूची)

कोरोना परीक्षणमा मनपरी शुल्क : ५ सयदेखि ७५ सयसम्म उठाउँदै राजधानीका अस्पताल (सूची)

उजिर कार्की
भदौ ११, २०७७ बिहिबार १३:३०,

कोरोना परीक्षणका नाममा राजधानीका अधिकांश अस्पतालले मनपरी शुल्क उठाइरहेको पाइएको छ।

राजधानीका अस्पतालले पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँसम्म उठाइरहेका विवरण नेपालखबरलाई प्राप्त भएको छ।

सरकारले निजी अस्पतालले बढीमा ५ हजार ५ सय रुपैयाँ लिएर कोरोनाको पीसीआर परीक्षण गर्न पाउने निर्णय गरेको भएपनि ग्राण्डी अस्पताल र नेपाल क्यान्सर अस्पतालले सोभन्दा २ हजार रुपैयाँ बढी लिने गरेको पुष्टि भएको छ।

राजधानीमा पीसीआर गरिरहेका ३३ अस्पतालमध्ये सबैभन्दा बढी शुल्क टोखास्थित ग्रान्डी अस्पताल र गोदावरीमा रहेको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरले लिइरहेका छन्। यी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म लिइरहेको पाइएको छ।

ग्रान्डीले अस्पतालमा भर्ना हुने सँगै अन्य व्यक्तिको पनि पीसीआर गरिरहेको छ भने, क्यान्सर अस्पतालले अस्पतालमा भर्ना भएका बिरामीको मात्रै पीसीआर गर्ने गरेको छ।

क्यान्सर अस्पतालले स्वाव संकलन गरेर भक्तपुरस्थित कोरिया मैत्री अस्पतालमा पठाउने गरेको छ। ग्रान्डीले स्टार र हेम्स हस्पतालमा पठाउने गरेको जनाएका छन्।

यी दुवै अस्पतालले स्वाव संकलन गरेर पठाउने अस्पतालले भने सरकारले तोकेकै शुल्क लिएर परीक्षण गरिरहेका छन्। यी अस्पतालले परीक्षणका लागि बाहिर पठाउने बहाना देखाएर बिरामीसँग बढी शुल्क उठाइरहेको पाइएको हो।

ग्रान्डी अस्पतालका प्रशासन हेर्ने अधिकृत हरि खड्काले ७ हजार ५ सय रुपैयाँ लिएरै ३ सय बढीको परीक्षण गरिसकेको बताए। उनले अन्य अस्पतालको तुलनामा ग्रान्डी अस्पतालमा महँगो हुनको कारण ग्रान्डीमा ल्याब नभएकाले स्वाव लिएर हेम्स र स्टार अस्पतालमा पठाउँदा महंगो पर्न गएको दाबी गरे।

तर ललितपुरको सुमेरु अस्पतालले भने स्वाव संकलन गरेर बि एण्ड बि अस्पतालमा पठाए पनि ५५ सय रुपैयाँ मात्रै लिने गरेको छ।

यस्तै प्रक्रियाबाट पीसीआर गरिरहेका अरु केही अस्पतालले पनि सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेका छन्।

काठमाडौंमा सरकारी र निजी गरी २१ अस्पताल, ललितपुरका १० र भक्तपुरका दुई वटा अस्पतालले पीसीआर गरिरहेका छन्।

काठमाडौंको नर्भिक अस्पतालले ६ हजार ५० रुपैयाँ उठाउने गरेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले समेत ६ हजार रुपैयाँ उठाइरहेको पाइएको छ। तीनकुनेस्थित कान्तिपुर अस्पतालले पनि सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको छ। यो अस्पतालले पीसीआर गर्दा ६ हजार ५० रुपैयाँ लिने गरेको छ।

शहिद मेमोरियल अस्पतालले ५ हजार ७ सय रुपैयाँ र नेशनल अस्पतालले ६ हजार रुपैयाँ लिएर पीसीआर गरिरहेको पाइएको छ।

यस्तै ललितपुरका नेपाल मेडिसिटी अस्पताल र किष्ट शिक्षण अस्पतालले ६ हजार ५० रुपैयाँ लिने गरेका छन् ।

यीबाहेक अन्य अस्पतालले भने सरकारले तोकेकै रकम र त्यो भन्दा कम शुल्क लिएरै पीसीआर गरिरहेका छन्। सरकारको अनुमति लिएका ल्याबतर्फ बिध म्यानेजमेन्टले सञ्चालन गरिरहेको बिध ल्याबले सरकारले तोकेको शुल्कभन्दा एक हजार कम अर्थात् ४५०० मा पीसीआर परीक्षण गरिरहेको छ।

hospitallist-1b.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .