ad ad

समाज


‘दुर्व्यवहार बन्द गरौं, अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउला !’

‘दुर्व्यवहार बन्द गरौं, अस्पतालमा नर्स र डाक्टर नहुने दिन आउला !’

नेपालखबर
भदौ १०, २०७७ बुधबार १३:३६,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले कोरोनाविरुद्धको खोप आगामी वर्ष (सन् २०२१) को सुरुसम्ममा बनिसक्ने विश्वास गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमसँग कोभिड-१९ को अवस्था र बच्ने उपायबारे बुधबार कुरा गर्दै डा. भ्यानडिलिएरले ले धेरै देश खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका हुन्।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनको भनाइ छ।

उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ।’ खोप तयार हुँदा दुई ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनले जानकारी दिए।

पहिलो चरणमा स्वास्थ्यकर्मी, अरू रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ। खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे।

उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली छ।’

भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनले बताए। मास्कको प्रयोग गरेर र अरू व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनको सुझाव छ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो व्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन्।

कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए।

आफू जोखिममा रहेर पनि नियमित रूपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए।

विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपंक्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनले बताए।

सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए। उनले भने, ‘कोभिड र त्यसबाहेकका अरू रोगको उपचारका लागि स्वास्थ्यकर्मी नै चाहिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .