ad ad

समाज


ब्यारेकभित्रै आइसोलेसन तयार गर्दै सेना

ब्यारेकभित्रै आइसोलेसन तयार गर्दै सेना

उजिर कार्की
भदौ १०, २०७७ बुधबार १३:४६,

नेपाली सेनाले ब्यारेकभित्रै आइसोलेसन तयार गर्ने भएको छ। सम्भावित ठाउँहरुको अध्ययन गरेर आइसोलेसन निर्माणको सुरुवात गरिसकेको जंगी अड्डाले जनाएको छ।

संक्रमणको जोखिम बढ्दै गएपछि सैनिक अधिकारीहरुलाई ब्यारेकमै राख्ने गरी सेनाले यस्तो तयारी थालेको हो।

सेनासँग वीरेन्द्र सैनिक अस्पतालमा ७० बेडको आइसोलेसन, २० बेडको आईसीयू, १८ वटा फिल्ड एम्बुलेन्स उपलब्ध छन्। सेनाले आफ्नो अस्पतालमा साउन ७ गतेबाट पीसीआर परीक्षण गर्ने व्यवस्था गरेको थियो।

सैनिकहरुको वीरेन्द्र सैनिक अस्पतालमा परीक्षण गर्ने व्यवस्था छ। एक पटकमा ९४ जनासम्मको परीक्षण गर्न सकिने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

हालसम्म ३ सय ८ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ। यीमध्ये १ सय १० जना निको भएर काममा फर्किसकेको प्रवक्ता पौडेलले बताए।

सेनाले ब्यारेकमा संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ। कोरोना संकट व्यवस्थापनमा खटिएका सैनिक संक्रमित भएका हुन्।

यसअघि ब्यारेकमा क्वारेन्टिन तयार गरेको सेनाले संक्रमण बढ्दै जाँदा आइसोलेसन समेत ब्यारेकभित्रै तयार गर्ने र लक्ष्यण नदेखिएका सैनिकलाई त्यहीँ राख्ने गरी तयारी गरिरहेको छ। नियमित स्वास्थ्य सेवालाई पनि निरन्तरता दिइरहेकाले आफ्नो स्वास्थ्यकर्मीको जनशक्तिलाई मध्यनजर गरेर आइसोलेसन तयार गर्ने प्रवक्ता पौडेलले बताए।

सशस्त्र प्रहरी अस्पतालका अन्य बिरामीलाई पनि सैनिक अस्पतालमै लगिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई सरकारले कोरोना संक्रमितको मात्रै उपचार गर्ने गरी प्रयोग गरिरहेको छ।

आफ्नो स्वास्थ्यकर्मीले धान्न सक्ने गरी आइसोलेसन तयार गर्ने सेनाको तयारी छ। सेनाका १८ वटा बाहिनीमा ७० जना स्वास्थ्यकर्मी कार्यरत छन्। यस्तै नेपालगन्ज पोखरा र इटहरीमा रहेका सैनिक अस्पतालमा एक सय जना स्वास्थ्यकर्मीको दरबन्दी छ। धनगढी र बर्दिवासका सामुदायिक अस्पताल पनि सैनिक स्वास्थ्यकर्मी छन्।

जोखिम न्यूनीकरण गर्न सेनाले बाहिर काममा खटिएर फर्किएका जनशक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर गरेपछि मात्रै समूहमा मिसाउने गरेको छ।

संक्रमणमा के गर्‍यो सेनाले?
सरकारले लकडाउन घोषणा गरेलगत्तै नेपाली सेनाले आफ्ना गतिविधिहरु बन्द गर्दै ब्यारेकमा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाएको थियो। कोरोनाबाट बच्न सचेतना कार्यक्रम गरेको सेनाले नियमित तालिम समेत बन्द गरेको छ।

सरकारले जेठ १२ गते भारतबाट आउने २० वटा नाका खोल्ने निर्णय गर्‍यो। नाकामा होल्डिङ सेन्टर, क्वारेन्टिन व्यवस्थापन, सुरक्षा, अभिलेख राख्ने र प्रदेशसम्म यातायातको व्यवस्थापन पनि सेनाले गरिरहेको छ।

सूदुरपश्चिम र कर्णाली प्रदेश लगायतका दुर्गम स्थानमा पुगेर स्वाब संकलन गर्ने काममा पनि सरकारले सेनालाई खटाएको छ। औषधि तथा स्वास्थ्य सामग्री हवाई तथा स्थलमार्गबाट सेनाले नै प्रदेश तथा जिल्लासम्म ढुवानी गर्दै आएको छ।

यस्तै सरकारले विदेशबाट चार्टर्ड उडान मार्फत आउने नेपालीलाई विमानस्थलदेखि होल्डिङ सेनटरसम्म लैजाने जिम्मा पनि सेनालाई दिइएको छ। सीसीएमसीको संयोजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होल्डिङ सेन्टरसम्म लैजाने, होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना संक्रमणबाट ज्यान गुमाउनेको शव व्यवस्थापन पनि सेनाले नै गरिरहेको छ।

लकडाउन पहिलेबाटै सैनिकलाई बिदामा जान रोक लगाइएको छ। आकस्मिक काममा गएर फर्किएपछि पनि ब्यारेकमै क्वारेन्टिनमा बस्ने पर्ने व्यवस्था गरिएको छ।

यस्तै सेनाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एम्बुलेन्स थप गरेको छ। सेनाले आफूसँग भएका गाडीलाई परिमार्जन गर्दै एम्बुलेन्सका रुपमा प्रयोग गर्न मिल्ने बनाएको छ।

यस्तै, बाहिर खटिने जनशक्तिलाई पनि सिफ्ट मिलाएर फिल्डमा खटाउने गरेको छ। एउटा टोलीले काम गरेपछि १४ दिन क्वारेन्टिनमा राख्ने र अर्को टोलीलाई खटाउने गरेको छ।

शान्ति सेनामा जानेलाई पनि १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर गरेपछि मात्रै पठाउने गरेको छ। फर्केर आउनेलाई पनि १४ दिन क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गरेपछि मात्रै छाड्ने गरिएको छ। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार सुरक्षाको व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ।

सेनाको मेडिकल कलेजबाट कन्ट्याक्ट ट्रेसिङ युनिट स्थापना गरी ट्रयाकिङ र ट्रेसिङ गर्दै आएको छ। यस्तै सेनाले मेरो स्वास्थ्य एप तयार गरेर सञ्चालन गरेको छ भने ब्यारेकमा दैनिक ज्वरो जाँच गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .