काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वका धेरैजसो स्थानमा आज (सोमबार) बिहानैदेखि मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साथै आज पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।
भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकाले आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
माैसमविद् शान्ति कँडेलका अनुसार आज पूर्वी र मध्य भूभागमा सामान्यदेखि पूर्णसम्म तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वका अधिकांश स्थानमा र मध्य तथा पश्चिमका केही स्थानमा वर्षाकाे सम्भावना छ।
साथै पूर्व र मध्यका थोरै तथा पश्चिमका एक/ दुई स्थानमा ठूलाे पानी पर्ने सम्भावना रहेकाे उनले बताइन्।
‘अहिले न्यून चापीय रेखा नेपालतर्फ आउँदै छ,’ उनले भनिन्, ‘साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पनि बदली र वर्षा बढेको हो।’
न्यून चापीय रेखा नेपालभित्रै आएपछि झन् अविरल र अति भारी वर्षा हुने मौसमविद्को अनुमान छ।
‘न्यून चापीय रेखा यही दिन नेपाल भित्रिन्छ भनेर ठोकुवा गर्न त गाह्रो हुन्छ,’ उनले भनिन्, ‘तर चाँडै नेपाल सिफ्ट(आउने) हुने क्रममा छ।’
आजभन्दा भाेलि क्रमश: वर्षाकाे मात्रा बढ्दै जाने उनकाे अनुमान छ।

प्रतिक्रिया