धनुषामा थप एक जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ। उनकाे मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य अवस्था बिग्रेपछि बिहीबार बिहान उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएका धनुषाको नगराईन नगरपालिका फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
मुटु तथा थाइराइडका रोगी समेत रहेका उनको अवस्था अचानक खराब भएपछि बिहीबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। उनको स्वाब त्यहीँ संकलन गरिएको थियो। उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।
शुक्रबार मृतकको स्वाब रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए।
यो सँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६९ महिला सहित २६५ संक्रमित थपिएका छन्। धनुषामा २९, महोत्तरीमा १७, सिरहामा २१, बारामा ३८, पर्सामा ७९, सर्लाही ५० र सप्तरी १९ जनामा शुक्रबार संक्रमण पुष्टि भएको अधिकृत झाले जानकारी दिए।
उनका अनुसार शुक्रबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ३२८ पुगेको छ।

प्रतिक्रिया