जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज (बिहीबार) मध्यरातिबाट निषेधाज्ञा जारी गरेको छ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी बिहीबार मध्यरातिबाट भदौ १४ सम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको हो। यस अवधिमा अनावश्यक काम बाहेक सर्वसाधारणहरुलाई घर बाहिर निस्किन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।
औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवा खरिदको काम बाहेक घर बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ।
अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेक अन्य सबै प्रकारका उद्योग व्यापार, व्यवसाय साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ।
यस्तै जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन जोरबिजोर प्रणालीमार्फत सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ। बैंकिङ सेवा भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभए स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ।
शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न पाइने छैन भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय पनि बन्द रहनेछन्।

प्रतिक्रिया