ad ad

समाज


रुपन्देही प्रशासनद्वारा अत्यावश्यक बाहेकका गतिविधि गर्न रोक

रुपन्देही प्रशासनद्वारा अत्यावश्यक बाहेकका गतिविधि गर्न रोक

प्रकाश न्यौपाने
भदौ २, २०७७ मंगलबार ११:५,

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यकबाहेक अन्य गतिविधि गर्न रोक लगाएको छ।

कोरोना संक्रमित बढ्दै गएपछि जिल्लाभर अत्यावश्यक सेवाबाहेक अन्य कामकारबाही गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले आजदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि कोभिड १९ को रोकथामलाई प्रभावकारी बनाउन तथा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न अत्यावश्क बाहेकका सेवा बन्द गरेको हो।

बैठकले खुल्ला स्थानमा मानिसहरुको भेला हुन, भीडभाड गर्न र सभा तथा जुलुस गर्न रोक लगाएको छ।

यस्तै, जात्रा तथा महोत्सव गर्न, दैनिक हुने नित्य पुजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि गर्न, उद्योग, व्यापार र व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका गतिविधि गर्न, चाडपर्व लगायतका धार्मिक, साँस्कृतिक कार्य लागि हुने जमघटमा रोक लगाएको प्रशासनले सूचनामार्फत् जानकारी गराएको छ।

यसैगरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न पनि रोक लगाइएको छ। सबै प्रकारका सभा, गोष्ठि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्युटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय लगायत सञ्चालनमा पनि रोक लगाइएको छ। फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय र कवाडी संकलनमा समेत रोक लगाएको छ।

प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न, टेक अवे बाहेकका होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न, बेलहिया नाका बाहेक गैरकानूनी रुपमा अन्य नाकाबाट मानिस ल्याउन र लैजान पूर्णरुपमा रोक लगाइएको प्रजिअ पन्थले बताए। निजी तथा सार्वजनिक यातायात राजमार्गमा मात्रै सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ।

प्रशासनले निषेध गरेको क्रियाकलाप गरेमा संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही हुने बताएको छ।

‘समुदयास्तरमै संक्रमण देखिन थालेपछि कडाइ गरिएको छ। प्रशासनले बन्देज गरेका गतिविधि गरेमा कानूनी कारबाही गर्छौं’, पन्थले भने, ‘जारी गरिएका नियम पूर्णरुपमा पालना गरेमा समुदायमा रोग फैलन रोक्न सकिन्छ।’

अहिले जिल्लाका १६ वटै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। खासगरी सिद्धार्थनगर र बुटवल उपमहानगरपालिकामा संक्रमित दिनहुँ बढेका छन्। जिल्लामा राजनीतिक दलका नेतादेखि बैंक तथा निजामति कर्मचारी, सर्वसाधारण, व्यवसायी, मजदुर, स्वास्थ्यकर्मी समेत संक्रमित भइसकेका छन्। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि रुपन्देही संक्रमणको उच्च जोखिममा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .