सरकारले तयार भइसकेका अन्तराष्ट्रिय चार्टर्ड उडान स्थगित गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान स्थगित गरेको हो।
सीसीएमसीले अब विदेशबाट फर्किने श्रमिक एक सातासम्म काठमाडौंका होटलमा बस्नुपर्ने भन्दै साउन २९ गते पत्राचार गरेको थियो।
तर उक्त निर्णयअनुसार होटल व्यवस्थित भइनसकेको भन्दै उडान स्थगित गर्न सोमबार पत्र पठाएको हो।
कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले जनाएको छ।
होटल क्वारेन्टिन सुनिश्चितता भएपछि मात्रै उडान स्वीकृति दिने तथा यसअघि जारी भएका उडान अनुमति समेत स्थगित गरिदिन पत्रमा अनुरोध गरिएको छ।
तय भइसकेका चार्टर्ड उडानहरु समेत स्थगित गर्ने जानकारी पाएलगतै दूतावासले समेत उडान स्थगित गरिएको सूचना सार्वजनिक गरेका छन्। मलेसिया दूतावासले मलेसियाबाट बुधबार, बिहिबार र शुक्रबारका लागि तय भएका नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिण्डो एयरका चार्टर्ड उडान समेत स्थगित गरेको छ।
अर्को सूचना जारी नभएसम्मका लागि उडान स्थगित गरिएको दूतावासले जनाएको छ। कोरोना संकट व्यवस्थापन संचालन केन्द्रले उडान स्थगित गरिदिन भन्दै सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको थियो।
Shares
प्रतिक्रिया