ad ad

समाज


फेसबुकले बन्द गरेको फाइल पुनः खोल्न लगाई जसले जिते ७ लाख

फेसबुकले बन्द गरेको फाइल पुनः खोल्न लगाई जसले जिते ७ लाख

यज्ञराज जोशी
साउन ३१, २०७७ शनिबार ९:४,

काठमाडौंका २१ वर्षीय सौगात पोखरेलले अघिल्लो वर्ष प्रयोगमा नआएको आफ्नो पुरानाे इन्स्टाग्राम एकाउन्ट ‘डिलिट’ गरेकाे भन्ठाने।

त्यसअघि उनले उक्त एकाउन्टमा आएका आफ्ना तस्बिर, म्यासेज लगायत तथ्यांकहरुको ब्याकअप राख्न डाउनलोड गर्न थाले। तथ्यांक डाउनलोड भइसकेपछि हेर्दा भने उनी झसङगै भए।

‘इन्स्टाग्रामको गोपनीयतासम्बन्धी नीतिअनुरुप प्रयोगकर्ताले डिलिट गरेका सामग्रीहरु ९० दिनपछि सर्भरबाट पनि हटिसक्नुपर्ने हो,’ सौगातले नेपालखबरसँग भने, ‘तर मैले एकाउन्ट ब्याकअप डाउनलोड गर्दा ६ वर्षअघि डिलिट गरिसकेका तस्बिर तथा म्यासेजहरु पनि देखिदा म आश्चर्यमा परेँ।’

२०१३ मा उनले एउटा फोटो पोस्ट गरेलगत्तै डिलिट गरेको उनलाई अझै सम्झना थियो। तर फेसबुककाे नीतिअनुरुप ९० दिनमा हट्नुपर्ने त्यो फोटोसहितका अन्य सामग्री पनि ब्याकअपका रुपमा डाउनलोड हुँदा इन्स्टाग्रामको माउ कम्पनी फेसबुकलाई उनले तत्कालै रिपोर्ट गरे।

No description available.सौगातले फेसबुकमा पठाएको रिपोर्ट

विश्वभर लोकप्रिय यस इन्स्टाग्रामका करोडौं प्रयोगकर्ताहरु छन। तर उसकाे नीतिविपरित प्रयोगकर्ताका सामग्रीहरु सर्भरमै रहेको तथ्य रिपोर्ट आएपछि इन्स्टाग्रामले पनि तुरुन्तै सौगातलाई जवाफ पठायो।

सौगातले सुरुमा यो प्रयोगकर्ताको गोपनीयतासँग जोडिएको विषय भएकोले समस्या समाधानको माग गरेका थिए। फेसबुक सुरक्षा टिमले भने सुरुमा ‘यो कसरी प्रयोगकर्ताको गोपनीयता र सुरक्षासँग जोडिन्छ?’ भनि खुलाएर पठाउन भन्यो।

जवाफमा सौगातले लेखे, ‘यदि नीतिविपरित निर्धारित समयभन्दा पछि पनि डिलिट भएका तथ्यहरु सार्वजनिक हुन्छन भने त्यसले प्रयोगकर्ताको गोपनीयता र प्रतिष्ठामा आँच पुग्छ। वर्षौसम्म डिलिट भएका सामग्रीहरु पुनः देखिदा भने डिलिट गरिएको के अर्थ? यो प्रयोगकर्ताको गोपनीयतामाथि ठूलो खेलबाड हो।’

त्यतिलेख्दा पनि सुरक्षा मामिलाका इड कुर्सनले गरेको जवाफमा ‘कुनै सामग्री डिलिट गर्दा सार्वजनिक रुपमा तत्कालै डिलिट हुने तर ब्याकअपसहित सर्भरबाट डिलिट हुँदा ९० दिन लाग्ने र बिस्तृतमा थाहा पाउन आफ्नो नीति पढ्न’ सल्लाह दिँदै उनको कुरालाई गम्भीरताका साथ लिएनन्।

रिपोर्ट गरेको दोस्रो दिनमै ‘सूचनाका रुपमा लिएको’ भन्दै फेसबुकको सुरक्षा विभागले उनको फाइल बन्द गरिदिएको थियो। तर, त्यस कुराले उनको चित्त बुझेन र पुनः रिप्लाई लेखे।

‘सूचनाका रुपमा मात्रै लिँदै मेरो रिपोर्टलाई बन्द गर्न खोजिदा म निकै दुखी छु। तपाईहरुको नीति 'डीलिट भएको तथ्यांक ९० दिनमा सर्भरबाट पनि हट्छ' भन्ने छ भने ५ वर्षसम्म मेरो हटाइएकाे तथ्यांक कसरी तपाईको सर्भरमा देखियो?’ प्रश्न गर्दै पुनः सौगातले लेखे।

त्यसपछि बल्ल सुरक्षाका अर्का कर्मचारी मेगनले उनलाई जवाफ लेख्दै माफी मागेर उनको रिपोर्टलाई विस्तृतमा अध्ययन गरिने जनाईन्। यसपटक उनको समस्या र एकाउन्टबारे पुनः विस्तृतमा जानकारी मागियो। सौगातले पनि मागेको सम्पूर्ण विवरण दिए।

तर नोभेम्बर(२०१९) देखि जनवरीसम्म पुनः फेसबुकबाट कुनै जवाफ आएन। सौगातले यसबीच पटक पटक आफ्नो समस्याबारे के सुनुवाई भइरहेको छ? भनेर जवाफ माग्न भने छाडेनन। तीन महिनापछि बल्ल गत जनवरीकाे मध्यताका फेसबुकले उनलाई जवाफ पठायो।

‘पहिलो पटक त्यसै फाइल बन्द गरेको फेसबुकले यसपटक ‘समस्याको दीर्घकालिन समाधानमा लागेका छौं,’ भनेर लेखेर पठाएको थियो,’ खुशी हुँदै सौगातले भने, ‘त्यसको एक महिनापछि त उनीहरुले मलाई पुरस्कार दिने निर्णय गरिएको म्यासेज नै पठाए।’ 

No description available.सौगातलाई पुरस्कार दिइएको बारे फेसबुकले पठाएको सूचना

इन्स्टाग्रामले आफ्नो कमजोरी पत्ता लगाइदिए वापत सौगातलाई गत फेब्रुअरीमै ६ हजार अमेरिकी डलर (७ लाख १७ हजार)रुपैयाँसहित पुरस्कृत गरेको थियो। तर समस्या पूर्ण रुपमा समाधान नभई सक्दासम्म यो कुरा गोप्य राख्न भनिएकाले उनले कसैलाई केही भनेनन। अहिले भने इन्स्टाग्रामले समस्या पूर्णरुपमा समाधान भइसकेको जनाएपछि सौगातले यो कुरा बाहिर ल्याएका हुन।

इन्स्टाग्रामको कमजोरी पत्ता लगाउँदै सौगातले पुरस्कार जितेको खबर अहिले टेक्नोलोजीसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय पत्रिकामा खबर छापिएका छन। इन्स्टाग्रामका प्रवक्ताले टेक्नोलोजीसम्बन्धी वेवसाइट टेकक्रन्चमा सौगातलाई समस्या औल्याईदिएकोमा धन्यवाद व्यक्त गरेका छन।

‘प्रयोगकर्ताले डाउनलोड गर्दा उनीहरुले डिलिट गरिसकेका सामग्रीपनि उपलब्ध हुने गरेको समस्याबारे ती(सौगात) अनुसन्धानकर्ताले रिपोर्ट गरेका थिए। हामीले अहिले उक्त समस्या समाधान गरिसकेका छौं। त्यसरी डाउनलोड हुँदा कुनै दुरुपयोग भएको पनि भेट्टाएका छैनौं। हामी ती अनुसन्धानकर्तालाई धन्यवाद दिन चाहान्छौं,’ प्रवक्ताले भनेका छन।

कहिले के भयो?
अक्टोबर १३, २०१९ - सौगातले फेसबुकलाई समस्याबारे रिपोर्ट गरे
अक्टोबर १५, २०१९ - रिपोर्टलाई ‘सूचनाका रुपमा लिएको भन्दै’ फाइल बन्द गरियो
अक्टोबर २२, २०१९ - फेसबुकको सुरक्षा टोलीले रिपोर्टको फाइल पुनः खोले
नोभेम्बर ४, २०१९ - रिपोर्टबारे अनुसन्धान थालिएको जानकारी
फेब्रुअरी ७, २०२० - समस्या जानकारी गराएको भन्दै सौगातलाई ६ हजार डलर पुरस्कार
जुलाई ७, २०२० - समस्या समाधान गरिएकोबारे जानकारी प्राप्त

को हुन सौगात?

No description available.
सौगात अमृत साइन्स क्याम्पसमा भौतिक विज्ञानमा बीएसस्सी अध्ययनरत छन। उनी साथीहरुको संगतले टेक्नोलोजीतर्फ रुचि जागेको बताउँछन।

‘मेरा थुप्रै साथीहरुले पनि यसरी पुरस्कार पाइसक्नुभएको छ। मैले पनि निरन्तर समस्या थाहा पाएर लागिरहेँ,’ उनले भने, ‘यो पुरस्कार पाएर हौसला मिलेको छ। टेक्नोलोजी सुरक्षाका क्षेत्रमा अझै काम गर्ने उत्साह थपिएको छ।’

विश्वको कराेडौं प्रयोगकर्ताबीच पनि उक्त समस्या नेपालबाट औल्याइएको बताउँदै उनले नेपालीहरुमा पनि टेक्नोलोजी र सुरक्षा सम्बन्धी ज्ञान बढ्दै गएको बताए। उनले आगामी दिनमा आफू पनि यस क्षेत्रमा लाग्ने र अरुलाई पनि लाग्न प्रेरणा दिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .