समाज


सवारी साधनले पालना गरेनन् मापदण्ड, समुदायमा संक्रमण फैलने जाेखिम

सवारी साधनले पालना गरेनन् मापदण्ड, समुदायमा संक्रमण फैलने जाेखिम

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १४:४७,

काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ। तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो। यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन।

भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ। यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो। अनुगमनमा रहेका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशबराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए।

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको बताए। उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीनवटा सवारी साधनलाई कारबाही गरिएको बताए।

सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिँदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ। विभागले गरेको चेकजाँचको क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए।

कतिपय सवारी साधनले सिट क्षमता भन्दा पनि बढी यात्रु राखेको पाइएको छ। त्यस्तै यात्रुले मास्कको प्रयोग नगरेको समेत पाइएको छ। विभागले भने सेनिटाइजर नराख्ने सवारी साधनलाई सामान्य चिट काटेर कारबाही गरेको छ। सानो बट्टा राख्नेलाई सम्झाएर पठाइएको जमरकट्टेलले बताए।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै गत असार २६ गतेदेखि उपत्यका भित्र छोटो दुरीको सवारी साधन सञ्चालन गर्न दिएको थियो। यातायात सञ्चालन गर्दा भौतिक दुरी कायम गर्नुपर्ने, सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, चालक र सहचालक सहित सबै यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र सवारी सधानलाई निसंक्रमण गर्नुपर्ने मापदण्ड तयार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .