समाज


राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्न सुरु

राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन गर्न सुरु

प्रकाश न्यौपाने
साउन २२, २०७७ बिहिबार १३:११,

रुपन्देहीमा राष्ट्रिय परिचयपत्रका लागि बिहीबारबाट तथ्यांक संकलन गर्न सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय भैरहवामा औपचारिक कार्यक्रम गरी सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीको विवरण भरी कार्यक्रमको सुरुवात गरिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गर्ने परिचय पत्रका लागि प्रशासन कार्यालय परिसरमा दुई वटा डेस्कमार्फत् तथ्यांक संकलन गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। उनकाअनुसार तत्काल नागरिकता प्राप्त नागरिकको मात्रै राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन गरिने छ। यसका लागि नागरिकताको प्रमाणपत्र र बिवाहित महिलाले बिवाह दर्ता प्रमाणपत्र साथमा लिएर फाराम भर्नु पर्नेछ।

सरकारले आगामी ४ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेको छ। व्यक्तिको वैयत्तिक पहिचानका लागि छुट्टा छुट्टै परिचय नम्बर प्रदान गर्ने, जैविक पहिचानसहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र तयार गरी वितरण गर्ने, नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने, जनतालाई प्रदान गर्ने सेवासुविधा एकीकृत प्रणालीमार्फत् एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणाली विकास गर्ने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले तथ्यांक संकलन सुरु गरेको प्रजिअ पन्थले बताए।

तथ्यांक संकलन गरेको केही हप्तापछि परिचयपत्रको डिजिटल प्रिन्ट व्यक्तिले प्राप्त गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्रमा व्यक्तिको नाम, अस्थायी र स्थायी ठेगाना, औंठा छाप, शैक्षिक योग्यता, पेशा, हजुरबुबाको नाम, आमाको नाम, पतिपत्नीको नाम आदि समावेश हुनेछ।

सुरुमा सरकारले आर्थिक वर्ष २०७५/०७६ मा पाँचथर जिल्ला र सिंहदरबार परिसरमा कार्यरत कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो। यो वर्ष एक करोड व्यक्तिको राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलन गर्ने लक्ष्य सरकारले लिएको छ। १६ स्थानीय तह रहेको रुपन्देहीमा २०६८ को जनगणनाअनुसार ८ लाख ८० हजार एक सय ९६ जनसंख्या छ। यो वर्ष अधिकांश जिल्लामा यो तथ्यांक संकलन सुरु हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .