ad ad

समाज


संक्रमणले प्रहरी सेवा प्रभावित हुँदैन, रिजर्भमा पर्याप्त प्रहरी छन् : प्रवक्ता कडायत (अन्तर्वार्ता)

संक्रमणले प्रहरी सेवा प्रभावित हुँदैन, रिजर्भमा पर्याप्त प्रहरी छन् : प्रवक्ता कडायत (अन्तर्वार्ता)

उजिर कार्की
साउन २२, २०७७ बिहिबार १३:३,

प्रहरी प्रधान कार्यालयसहित देशका बिभिन्न ठाउँमा खटिएका प्रहरीको ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ।

बिहीबार दिउँसोसम्म ३ सय २५ जना प्रहरीमा संक्रमण देखिएको छ।

यीमध्ये ११९ जना कोरोनामुक्त हुँदै काममा फर्किएका छन्। तर संक्रमितको सम्पर्कमा रहेका धेरै प्रहरी क्वारेन्टिनमा बस्नुपरेको छ।

प्रहरी प्रधान कार्यालयका ८५ प्रहरी संक्रमित हुँदा केही ब्यारेक नै खालि गर्नुपरेको छ। दुई प्रहरीमा संक्रमण देखिएपछि ट्राफिक महाशाखा नै क्वारेन्टिनमा छ। त्यहाँ बिहीबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।

महाशाखा प्रमुख (एसएसपी) सहित २८१ जना कार्यालयभित्रै क्वारेन्टिनमा छन्।

तर रिपोर्ट नेगेटिभ आएकाहरु भने छिट्टै काममा फर्किने महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए। उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गर्दै जाँदा संक्रमित थपिँदै गएका छन्।

संक्रमित थपिँदै जाँदा सरकारले पुनः भिडभाड र आवतजावतमा कडाइ गर्न थालेको छ। बिहीबारबाट २ सय बढी संक्रमित भएका जिल्लामा सवारी साधानमा जोर–विजोर नियम लागु गरिएको छ।

राति ९ बजेदेखि हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ। तर सरकारका यी नीति कार्यान्वयन गराउन फिल्डमा खटिने प्रहरीमा भने संक्रमितको संख्या थपिँदै गएको छ। प्रहरी आफैं प्रभावित हुँदा सेवा प्रवाहमा कस्तो असर पर्ला भनेर नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतसँग गरिएको संक्षिप्त कुराकानीः

प्रहरी प्रधान कार्यालयमै कसरी फैलिन पुग्यो कोरोना संक्रमण?
अब यो कसरी फैलिन गयो भन्न त गाह्रो छ। देखिनचाहिँ हेडक्वाटरमा पनि देखिएको छ। प्रदेशदेखि जिल्ला प्रहरी कार्यालय अन्य युनिटतिर पनि प्रहरीमा संक्रमण देखिएको छ। कतिपय प्रदेशमा छैन पनि। तर यसले काममा ठूलो वाधा पारिसकेको छैन। अलिक कठिनाइ त हुने नौ भयो। यति धेरै जनशक्ति संक्रमित भएपछि उनीहरुको रेखदेख, कामको व्यवस्थापन गर्न गाह्रो त होला तर प्रहरीले दिनुपर्ने नियमित सेवामा धेरै प्रभावचाहिँ पर्दैन।

प्रधान कार्यालयमा कोरोना संक्रमण पछि कसरी व्यवस्थापन गर्नु भएको छ?
संक्रमण देखिएका प्रहरी स्वास्थ्य मापदण्ड अनुसार अस्पताल गएका छन्। उनीहरुको सम्पर्कमा रहेका, आशंका लागेकालाई क्वारेन्टिनमा राख्ने गरेका छौं।

किन बढिरहेको छ, प्रहरीमा संक्रमण?
किन, कसरी बढिरहेको छ भन्न त मलाई पनि गाह्रो छ। कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा थपिँदै गएको हो। लापरबाही भन्दा पनि प्रहरी त फिल्डमा खटिने हो नि त। हाम्रो कामको पनि प्रकृति त्यस्तै हुन्छ। बाढी पहिरोमा फिल्डमा खटिनु परेको छ। पीडितलाई उद्धार गर्नु परेको छ। उनीहरुका सामान ओसारपसार गर्नुपरेको छ। कामको प्रकृति नै त्यस्तै छ। यी बाहेक अरु कारण पनि हुन सक्छन्।

अब यसरी संक्रमित प्रहरीको संख्या बढ्दै जाँदा सेवा प्रभावित होला। कसरी व्यवस्थापन गर्नुहुन्छ?
हामीसँग प्रशस्त रिजर्भ जनशक्ति छ। अहिलेको हिसावले सेवाप्रवाहमा फरक पर्दैन। प्रदेश, जिल्लामा पनि हामीसँग रिजर्भमा जनशक्ति छन्। प्रहरी प्रधान कार्यालय लगायत कार्यालयको काममा फरक पर्दैन। १० जनाले गर्ने ठाउँमा ५ जनाले पनि गर्नुपर्ने हुनसक्छ। त्यसो गर्न सकिन्छ।

संक्रमित र उनीहरुको सम्पर्कमा रहेका प्रहरीलाई कसरी व्यवस्थापन गर्नु भएको छ?
एउटै ब्यारेकमा बसेकाहरुलाई देखियो भने पूरै ब्यारेक खालि गरेर क्वारेन्टिनमा लैजान्छौं। उनीहरुको सम्पर्कमा रहेकाहरुलाई कन्ट्याक्ट ट्रेसिङ गरेर बोलाउने, क्वारेन्टिनमा राख्ने, कतिपयलाई होम क्वारेन्टिनमा पनि राखिएको छ। पछि पीसीआर परीक्षण गरिन्छ। र नेगेटिभ आएकाहरु काममा फर्किन्छन्।

सरकारले संक्रमण बढ्दै गएपछि फेरि लकडाउनमा कडाइ गर्ने तयारी गरिरहेको छ। फेरि कडाइ गर्न संभव छ?
अब सरकारले, गृह मन्त्रालयले जे निर्णय गर्छ नेपाल प्रहरीले त त्यसलाई जसरी पनि कार्यन्वयन गर्छ।

अब फेरि लकडाउनमा फर्काउँदा आम मानिसले सहयोग गर्लान्?
तपाईलाई थाहा छ नि, नेपाल प्रहरी एउटा यस्तो संगठन हो। जति जोखिममा भएपनि जस्तोसुकै परिस्थिति आए पनि काम गर्न सक्षम छ। आम मानिसले के गर्लान् भन्ने विषयमा अहिले मैले बोलिहाल्ने अवस्था भएन। अहिलेसम्म जे गरिएको छ, यसलाई आम मानिसले स्वीकार गरेका छन्। कतिपय ठाउँ त स्थानीय आफैंले एरिया सिल गर्नुपर्छ भनेर अग्रसर भएका छन्। पब्लिकको सहयोग छ र फेरि पनि रहन्छ भन्ने हाम्रो विश्वास छ।

अब लकडाउन गर्दा सुरक्षाको दृष्टिकोणले कसरी गर्नुपर्ला?
अहिले जोर बिजोरको कुरा भयो। त्यसलाई हामीले कार्यन्वयन गर्दैछौं। अब भोलि लकडाउनको मोडालिटि कस्तो हुन्छ। मोडालिटि आएपछि हाम्रो पनि त्यही अनुसारको तयारी हुन्छ। मोडालिटि अनुसारको रणनीति हामीले बनाउँछौं। र, त्यही अनुसार कार्यान्वयन गर्छौं।

ट्राफिक पनि ठूलो संख्यामा क्वारेन्टिनमा छन्, राजधानीको ट्राफिक व्यवस्थापन कसरी गर्नु भएको छ?
राजधानी आसपास, सवारीको चाप कम भएका स्थानबाट जनशक्ति ल्याएका छौं। जनपद प्रहरीले पनि सहयोग गरिरहेको छ। ट्राफिकमा पनि जनशक्तिका हिसाबले अप्ठेरो परिसकेको अवस्था छैन।

राजधानी प्रवेश गर्ने प्रमुख नाकालाई कसरी व्यवस्थित गरिएको छ?
काठमाण्डौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सवै यात्रुबाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ। अत्यावश्यक काम परेका बाहेकलाई राजधानी प्रवेश गर्न दिइदैन। नेपाल सरकारको निर्णय बमोजिम आगमन अनुमति पाएका व्यक्तिबाहेक सीमा नाकामा हुने आवतजावतलाई कडाइका साथ निषेध गरिएको छ।

बढि संवेदनशील कहाँ देखिएको छ?
अब सरकारले पछिल्लो पटक मापदण्ड तयार गरेको छ। सरकारले भनेको छ, २ सय बढी सक्रिय संक्रमित भएको ठाउँमा थप कडाइ गरिएको छ। हामीले नेपाल सरकारको निर्णय कार्यान्वयन गराउने हो। पब्लिकबाट पालना भयो भने प्हरीलाई सहयोग पुग्छ। भीडभाड नगर्ने, २५ जनाभन्दा बढी जम्मा नहुने, बाहिर हिँड्दा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दुरी कायम गरिदिनुभयो भने संक्रमणको जोखिम कम हुन्छ। प्रहरीलाई पनि त्यति नै गर्दा ठूलो सहयोग पुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .