‘हाम्री आमा मस्जिदमा अजान दिएपछि- उठ, बिहान भइसक्यो, मस्जिदमा अजान दिइसके भन्नुहुन्थ्यो’, स्थानीय विश्व सिग्देलले ती दिन सम्झँदै भने, ‘हामीलाई मस्जिदको अजान पनि आरती र भजनजस्तै प्रिय लाग्छन्।’
‘अजान’ भनेको नमाज पढ्न बोलाउनु नै हो। मस्जिदमा दिनको पाँच पटक अजान दिइन्छ। बिहानको अजान तिख्खर सुनिने भएकाले पनि आमाहरुले यसलाई घडीसँग जोडेको उनले अनुमान लगाए।
पोखराको मियाँपाटनसँगैका बासिन्दा हुन्, विश्व सिग्देल र उनले आफ्नै घरछेउको मस्जिदको चर्चा गरेका हुन्। पोखराको धेरै पाटनमध्येको एउटा पाटन हो, मियाँपाटन। मियाँपाटनमा करिब ३ सय मुस्लिम धर्मावलम्बीहरु बस्छन्। सुन्नी सम्प्रदायका हुन्, उनीहरु।
उनीहरु कहाँबाट आए? कहिलेदेखि यहाँ बसे? तिथि– मिति नमिल्ला तर मियाँपाटन पोखराकै पुरानो बस्तीमध्येको एक हो भन्नेमा चाहिँ कुनै शंका छैन। यो बस्तीमा बस्नेहरु मुस्लिमभन्दा पनि पहिले चुरुटे वा चुरौटेको नामबाट चिनिए। हिन्दु महिलाहरुको सौभाग्य सामानहरु चुरा, पोते, ऐना, काइँयो, टीका बेच्ने व्यापारीहरुलाई गाउँलेहरुले चुरासँग जोडेर चुरुटेको संज्ञा दिए। उनीहरु चुरुटे कहलिए। काम थियो, ‘डुलेर सामान बेच्नू।’
यहाँका महिलाहरु व्यापारमा पारंगत थिए। पतिहरु भने खेतिपातीमै रमाउँथै। विश्व सिग्देलका अनु्सार केही वर्षअघिसम्म यहाँ हल गोरु नपाल्ने र ४० मुरी धान नभित्र्याउने मुसलमान भेट्न गाह्रो पर्थ्यो। मियाँपाटनका मुखिया रैमत अलीको सान पनि अलग्गै थियो। दशैँ र विशेष चाडमा वरपरका हिन्दुहरु पनि उनीकहाँ रोटी र फलफूल लिएर सम्मान जताउँथे।
कवि हनिफ मियाँका अनुसार त्यो बेला यस्ता व्यापारीहरुले शौभाग्यका सामानहरुमा भन्सार छुट पाउँथे। भन्सार छुटका सामान घरघरै वा जात्रा, मेलामा बेचिन्थ्यो।
‘त्यो बेलाका राजाहरुले टीका, धागो, काइँयो, चुराजस्ता सामानमा भन्सार छुट दिएका थिए’, उनले भने, ‘हाम्रा पुर्खाहरु भारत गएर सामान ल्याउँथे र यहाँ बेच्थे।’
उनले त्यो छुटलाई कुनै बेला मनाङबासीले हङकङ जान र व्यापार गर्न पाएको छुटसँग तुलना गरे। हनिफका अनुसार राजाले बोलाएर भारतबाट आएका हुन् रे, उनका पूर्वजहरु। त्यसो त, नेपालको आधुनिक इतिहासले पनि कास्कीका राजा सिद्धिनारायण शाहको पालामा उनीहरु पोखरा आएको बताउँछ। सिद्धिनरसिंह १८०० सालतिर राजा भएका थिए। उनले शमशुद्धिन, जाशुद्धिनलगायतका आफ्ना पुर्खाहरुले मियाँपाटनमै जीवन बिताएको पनि सम्झे।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी मिचा खाँको नेतृत्वमा चुरौटेहरु भारतबाट नेपाल आएको विश्वास गर्छन्। उनका अनुसार भारतबाट आएपछि उनीहरुले स्याङ्जाको भिरकोटमा बस्ती बसाले अनि पोखरा सरे। व्यापारको लागि नै उनीहरुलाई नेपाल ल्याइएको थियो। त्यसो त, हतियार र बारुद बनाउन सिपालु भएकाले पनि मुस्लिमहरुलाई नेपाल झिकाइएको उनको भनाई छ। व्यापारको लागि सिद्धिनारायणले नै भक्तपुरबाट २६ कुरिया नेवारलाई पोखरा झिकाएर यहाँको भैरवटोल र भिमसेनटोलमा बस्ने व्यवस्था मिलाएका थिए।
नेपाली विकिपिडियामा ‘अग्लो कद, स्वाभिमानी आँखा, मिजासिलो बोली भएकाहरुलाई चुरुटे वा चुरौटे भनिने उल्लेख गरिएको छ। सातौँ शताब्दीतिर नेपाल–अरब व्यापार हुन थालेको बेला नै नेपालमा मुस्लिमहरु आएको सन् ७८२/०८३ तिर अरवीमा लेखिएको हुउद अल आलममा चर्चा गरिएको पाइन्छ। त्यो बेला नेपालबाट कस्तुरी अरब पठाइन्थ्यो। आधुनिक इतिहासमा भने, काठमाडौंमा राजा रत्न मल्लले १४८४ देखि १५२० सम्म मुसलमानलाई स्थायी बसोबासको व्यवस्था मिलाएको उल्लेख गरिएको छ।
मियाँहरुलाई नजिकबाट बुझ्ने स्वतन्त्र विष्लेषक विश्व सिग्देलले त तिजारत (व्यापार) मा पारंगत शौभाग्यका सामग्रीहरु धागो, चुरा, पोते, टीका बेच्ने मुस्लिमहरुको बस्ती नै पोखराको पहिलो बस्ती भएको बताउँछन्। मल्लकालीन समयमा राजाकोमा नाचगान गर्न, नाटक देखाउनका लागि नेपाल छिरेका मुस्लिमहरुले नै औलो लाग्ने पोखरामा बस्ती बसाएको उनको भनाई छ।
‘अदालतमा प्रयोग हुने ‘अदालत, वकिल, दरखास्त’ जस्ता फारसी शव्दहरु उनीहरुसँगै नेपाल भित्रिएका हुन्,’ उनले भनेका छन्,‘ व्यापार व्यबसायलाई ब्यबस्थित गर्नका लागि कश्मिरबाट केही मुसलमानहरु नेपाल छिरेका थिए र कालान्तरमा उनीहरु देशका विभिन्न भागमा छरिए।’
पोखराको मियाँपाटन तीमध्येकै पुरानो र विशेष महत्व बोकेको उनले जिकिर गरे। संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार हिन्दु महिलाहरुको लागि चाडबाडमा अत्यावश्यक मानिने सौभाग्यका सामान बेच्ने भएकाले उनीहरु नेपाली समाज र संस्कृतिसँग भ्याम्मिए।
‘हिन्दु महिलाले मनाउने हरितालीका तीज मुस्लिमहरुको व्यापार गर्ने मौका बनेपछि स्वभाविक रुपमा उनीहरुले यहाँको संस्कृति तथा रहन–सहनसँग आफूलाई अभ्यस्त गराए’, उनले भने,‘ उनीहरुले नेपाली ढाकाटोपीलाई आफ्नो बनाए, आफूलाई नेपाली मुसलमान भएकोमा गर्वित ठाने।’
मियाँपाटनमै जन्मेका अली मियाँले नेपाली लोकसंस्कृतिलाई ठूलो गुन लगाए। मुसलमान भएर पनि रामायणका कथा भन्न सक्नु उनको विशेषता र महानता दुवै भएको श्रेष्ठले तर्क गरे।
विश्व सिग्देलले मुस्लिम महिलाहरुले औंँशी बार्नेदेखि भयँरको पूजामा सरिक हुने सम्झँदै भने,‘दशैँमा रोँटे पिङ हाल्ने बेला पनि मुस्लिमहरुको सक्रियता लोभलाग्दो हुन्थ्यो, विहेवारीमा हामी पनि जान्थ्र्यौँ उनीहरु पनि आउँथे।’
उनले नेपालका पहाडमा रहेका मुस्लिमहरुलाई अन्य जातका मान्छेहरुसँग छुट्याउन नमिल्ने तर्क पनि गरे।
आज ईद अर्थात् हजरत इब्राहिमप्रति अगाध आस्था र प्रेम अनि सम्मान गर्ने पर्व। इद उल जोहा (बकर ईद) मा पनि मियाँपाटन सुनसान छ! लाग्छ, बस्ती सुतेको छ। समय उस्तै हुन्थ्यो भने, यतिबेला मस्जिदबाट ‘अल्लाहु... अक्बर... गुन्जन्थ्यो।
मुसलमानहरुको चाडबाडमा सामेल हुने गरेका छिमेकी सिग्देलका अनुसार मियाँपाटनमा बस्नेहरुसँग आफ्नै मौलिकता पनि रहेका छन्। भद्रकाली मन्दिरमा भजन र फेदमा रहेको मस्जिदमा नमाज घन्कनुलाई कसैले अन्यथा लिने कुरा भएन। वर्षौदेखि सँगै बसेकाले मियाँपाटन सामाजिक सद्भावको नमूना पनि भएको उनले बताए।
‘हामी उहाँहरुको चाडबाडमा सरिक हुन्छौंँ, उहाँहरु पनि हामीकहाँ आउनुहुन्छ’, उनले भने, ‘हामी सबैभन्दा पहिले नेपाली हौँ नि।’
त्यसो त, कवि हनिफले पनि हिन्दुहरुले मनाउने चाडपर्वहरुमा आफूहरु पनि सरिक हुने गरेको सुनाए। उनका अनुसार तिहारमा तेल र टीका नलगाए पनि सेलरोटी, दशैँमा भोज खानेजस्ता परम्पराहरु भदकाली/ कुँडहर/मियाँपाटनका साझा संस्कृति हुन्।
Shares
प्रतिक्रिया