काभ्रेको नमोबुद्ध नगरपालिका–५ लाफ्कोटमा क्रसरको लेदो खसेपछि बीपी राजमार्ग अबरुद्ध भएको छ।
सडक माथि सञ्चालमा रहेको पशुपति रोडाढुंगा उद्योगबाट खसेको लेदो माटो राजमार्गमा थुप्रिँदा यो सडक पटक- पटक अबरुद्ध हुँदै आएको छ। गए राति भएको वर्षापछि यो सडक पुनः अबरुद्ध भएको हाे।
अबको केही बेरमा लेदो माटो पन्छाएर एकतर्फी बाटो सञ्चालन गरिने काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताए।
सडक अबरुद्ध हुँदा दुबैतर्फ सयौँ सवारी साधनको लाम लागेको छ। ‘अहिले डोजर प्रयोग गरेर पहिरो हटाइरहेका छौँ,’ एसपी सापकोटाले नेपालखबरसँग भने।
सडक माथिको पशुपति रोडाढुंगा क्रसरबाट बगेर आउने लेदोले यो सडक एक सातादेखि अबरुद्ध हुँदै आएको छ।
तर, सम्बन्धित निकायले क्रसरलाई नियमन गर्नेतर्फ चासो नदेखाएको गुनासो यात्रु र स्थानीयबासीले गरेका छन्।
जिल्ला समन्वय समितिले सडकमाथि क्रसर सञ्चालन गर्न दिएको हो। तर, एसपी सापकोटाले भने यस विषयमा आफूले केही गर्न नमिल्ने बताए।
‘सडकमाथि किन क्रसर सञ्चालन गर्न दिएको भनेर मलाई होइन, जिससलाई सोध्नुस्,’ एसपी सापकोटाले भने।

प्रतिक्रिया