समाज


बाढीपीडित घर फर्कन थालेः बन्दोबस्ती सामग्रीको पिरलो

बाढीपीडित घर फर्कन थालेः बन्दोबस्ती सामग्रीको पिरलो

नेपालखबर
साउन १, २०७६ बुधबार १०:४८,

लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरु विस्तारैै घर फर्किन थालेका छन्। विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांशले आफ्नो घर फर्कन थालेका हुन्।

बाढीका कारण विराटनगर महानगरपालिकाको १९ वटा वडा आंशिकरुपमा डुबानमा परेको थियो भने वडा नं १, ६, ७, ८, ११, १२, १५, १६, १८ र १९ सबैभन्दा धेरै डुबानमा परेको थियो। विराटनगर सीमा भएर बग्ने केशलिया र सिङ्घिया नदी तथा वर्षाको पानीको उचित निकास नहुँदा ती बस्तीमा पानी पसेपछी डुबानमा परेको थियो। बाढीले नगर क्षेत्रका पाँच हजारभन्दा बढी प्रभावित भएका थिए। पानी जमेका कारण विस्थापित बनेका केही पानी घटेपछि घर फर्के पनि खोलाको भङ्गालो पसेर घर भत्काइदिएका धेरै सर्वसाधारण अझै पनि नजिकका विद्यालयमा आश्रित छन्।

बाढीबाट विस्थापित विराटनगर– १२ का ६० परिवार घर फर्किसकेका छन् भने २५ परिवार घर फर्कन अझै बाँकी रहेको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए। बाढीबाट विस्थापित भएका स्थानीय श्री बखरी आधारभूत विद्यालयमा आश्रित लिएका छन्। उनीहरुलाई त्यही खानपानको व्यवस्था मिलाइएको छ।

महानगर–१२ का सोमनी ऋषिदेवको घर पनि डुबानमा परेकोले बखरी आधारभूत विद्यालयमा आफ्नो परिवारसहित बसेको छ। अब घर कहिले फर्कन भन्ने सोचमा छन् उनी। उनको कच्चीघरको अधिकांश भाग भत्केकाले घरमा भएका खाद्यान्न, लत्ताकपडा काम नलाग्ने हुनुका साथै घरहरु मर्मत बिना बस्न लायक नभएको उनको गुनासो छ।

यस्तै सोही स्थानका सुकुना ऋषिदेवले आफ्नो घर भनेको आफ्नै हो भन्दै बाढीले सबै सामान काम नलाग्ने र छोराछोरीको किताबकपी पनि काम नलाग्ने अवस्थामा पुगेको बताए। सबै सामान नयाँ लिनुपर्छ तर त्यसका लागि आफूसँग रकम नभएको उनले दुखेसाे गरे।

उनीहरु जस्तै धेरैले अहिले पनि विद्यालयमा आश्रय लिएर बसिरहेका छन् भने उनीहरुलाई महानगरले नै खाना र स्वास्थ्य उपचारकोे व्यवस्था मिलाएको छ। विगत दुई दिनदेखि मौसममा आएको सुधारले केही दिनभित्र सबैपीडित परिवार आफ्नो घर फर्कने महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगर वडा नं १, २, ४, ७, ८, १२, १५, १९ कटहरी गाउँपालिकाको वडा नं १, २ र ४ मा पीडितलाई २०० थान त्रिपाल वितरण गरेका कार्यालयका प्रमुख कुमारप्रसाद निरौलाले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .