म्याग्दीमा शुक्रबार पहिरोमा परेर बेपत्ता भएका ३४ जनामध्ये शनिबार बिहानसम्म १२ जनाको शव फेला परेको छ। २२ जना भने अझै हराइरहेका छन्।
मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिए। ‘म भर्खर घटनास्थलमा आइपुगेको छ,’ शनिबार बिहान डिएसपी कुँवरले नेपालखबरसँग भने, ‘थप बुझेर भनौँला।’
शुक्रबार पहिरोमा परि म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङमा २१ जना, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ मा दुखुमा एक जना बेपत्ता भएका थिए।
धौलागिरी गाउँपालिका ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो।
बेपत्तामध्ये तीन जनाको शव हिजै फेला परेको थियो। आज थप नौ जनाको शव फेला परेको हो।

प्रतिक्रिया