अविरल वर्षापछि आएको लेदोसहितको पहिरोले बिपी राजमार्गको सुनकोसीमा शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको छ।
शुक्रबार बिहान पौने ३ बजे सुनकोसी गाउँपालिका २ कमेरेफाँटमा माथिबाट लेदोसहित बगेर आएको माटोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
लेदोमा एउटा कार पनि फसेको सिन्धुलीकी एसपी मञ्जु सिग्देलले जानकारी दिइन्। ‘जेसिभीले लेदो पन्छाएर फसेको कारलाई निकालेका छौँ,’ एसपी सिग्देलले नेपालखबरसँग भनिन्, ‘केहीबेरअघिबाट सडक एकतर्फी खुलेको छ, तर वर्षा जारी रहेकाले फेरि कतिबेल पहिरो झर्ने हो ठेगान छैन।’
काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा १० च ७८४७ नम्बरको कार लेदोसहितको माटोमा फसेको हो। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
वर्षापछिको बाढी र पहिरोले बिपी राजमार्गको ठाउँठाउँमा क्षति गरेको छ। ‘सुनकोसी, खुर्कोट, मंगलटार लगायतका ठाउँमा सडक अबरुद्ध हुने जोखिम बढी छ। ती ठाउँमा पहिरो पन्छाउन जेसिभी तयारी अवस्थामा राखिएको छ,’ सिग्देलले भनिन्।

प्रतिक्रिया