गुल्मीमा बाढी र पहिरो जाँदा १८ महिनाका एक बालकको मत्यु भएको छ। दुई छुट्टाछुट्टै घटनामा परि कम्तिमा पनि अन्य दुई जना बेपत्ता भएका छन्।
इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएराति ठूलो वर्षासँगै बाढी र पहिरो गएको हो। पहिरोमा परेर इस्मा गाउँपालिका १ मल्लीका बसन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए। उनको शव पहिरोले पुरेको अवस्थामा शुक्रबार बिहान फेला परेको छ।
‘पहिरोमा परेर इश्मा र मुसिकोटमा एक एक जना बेपत्ता भएका र केही घाइते भएका खबर आएको छ,’ एसपी खड्काले नेपालखबरसँग भने, ‘घटनास्थलमा स्थानीय प्रहरी चौकी र सदरमुकामबाट पनि प्रहरी टोली पठाइएका छौं।’ उनले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।
घर माथिबाट एक्कासी आएको पहिरोले घर पुर्दा बालकको मृत्यु भएको हो। पहिरोले घर बगाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान जोगाएका छन्।
पहिरोमा परेर स्थानीय रिख बहादुर खत्रीकी ७ वर्षकी छोरी अपेक्षा खत्री बेपत्ता भएकी छन्। खत्रीको घर पनि पहिरोले बगाएको छ। पहिरोमा परेर रिखबहादुरकी श्रीमती ईश्वरा खत्री गम्भीर घाइते भएकी छन्। पहिरोमा बेपत्ता बालिकाकी हजुरआमा पुतला खत्री र बुवा टीका खत्री पनि घाइते भएका छन्।
त्यसैगरी मुसिकोट नगरपालिका २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका प्रहरीले जनाएको छ।
शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
Shares

प्रतिक्रिया