समाज


९ वर्षमुनिमा बालबालिकामा कोरोना संक्रमण बढ्दै

९ वर्षमुनिमा बालबालिकामा कोरोना संक्रमण बढ्दै

शेरबहादुर सिंह
असार १७, २०७७ बुधबार १:४५,

सुदूरपश्चिम प्रदेशमा हालसम्म एक सय ७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको छ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताए। ‘सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्,’ उनले भने।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ। त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन्। मंगलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन्।

‘महिलाहरु पनि प्रायः श्रीमानसँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्’, उनले भने, ‘समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ।’

कोरोनाबाट सुदूरपश्चिममा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन्। सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ।

निर्देशक डा.अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए। ‘डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ’, अवस्थीले भने, ‘सात÷दश दिनमा सबै सामान आइसक्छ।’

यसैबीच सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ जना बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .