समाज


इन्जिनियरको अवैध कमाइ १० करोड ७७ लाख

इन्जिनियरको अवैध कमाइ १० करोड ७७ लाख

नेपालखबर
असार १६, २०७७ मंगलबार १६:१५,

पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेलमा कार्यरत आयोजना प्रमुख राजकुमार शाक्यविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार २०४९ जेठ २ गते सरकारी सेवामा प्रवेश गरेका शाक्यको २०६४ माघ १ गतेसम्म इन्जिनियर पदमा र २०७२ कात्तिक १० देखि सिनियर डिभिजनल इन्जिनियर पदमा बढुवा भएको पाइएको छ। कमिसन नलिई काम नगर्ने, आव २०७५/०७६ मा करिब रु एक करोड कमिसन असुल गरेको, २०७६ असारमा विभिन्न ठेकेदारसँग करिब रु ५० लाख खातामा राख्न लगाई बिल भुक्तानी गरेको भन्ने आरोपमा छानबिन गर्दा शाक्यले अकूत सम्पत्ति जोडेको पाइएको आयोगले जनाएको छ।

महेन्द्रनगरबाट ओभरसियर पदबाट सरकारी सेवामा प्रवेश गरेदेखि सिनियर डिभिजनल इन्जिनियर पदमा रहँदासम्म उनले आफन्तको नाममा समेत सम्पत्ति जोडेको आयोगको ठहर छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिनियर डिजिनल इन्जिनियर शाक्यले श्रीमती अल्का र भान्जी नाताकी प्रभा शाक्यको नाममा समेत अवैध तरिकाले कमाएको सम्पत्ति राखेको भेटिएको छ।

सार्वजनिक सेवामा प्रवेशदेखि गत फागुनसम्मको अवधिमा शाक्यले वैधानिकरुपमा रु एक करोड ६१ लाख ७३ हजार ५६१ आयआर्जन गरेको देखिएको छ। सम्पत्ति सिर्जना तथा लगानीमा भने रु १२ करोड ३९ लाख २४ हजार १४ देखिएको आयोगको ठहर छ। वैधानिक आयको तुलनामा रु १० करोड ७७ लाख ५० हजार ४५३ बराबरको सम्पत्ति वैध आयस्रोतमा नदेखिएको अनुसन्धानबाट खुलेको आयोगले स्पष्ट पारेको छ।

आयोगको विवरणअनुसार २०७६ पुस ८ गते ललितपुर महानगरपालिका–१३ मा खरिद गरेको जग्गा सम्पत्ति विवरण फाराम बुझाएकै दिन अल्का शाक्यको नाममा रहेको जग्गा प्रभा शाक्यको नाममा परिवर्तन गरेको भेटिएको छ। गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने उद्देश्यले श्रीमतीको नामबाट अन्य व्यक्तिको नाममा स्वामित्व परिवर्तन गरेको पाइएको छ।

आयोगले सिनियर डिभिजनल इन्जिनियर शाक्यले आर्जन गरेको तर स्रोत नखुलेको रु दुई करोड ५४ लाख ७४ हजार ७२६ बराबरको सम्पत्ति र नपुग बिगो रु आठ करोड २२ लाख ७५ हजार ७२७ समेत जफत गर्न आयोगले माग गरेको छ। आयोगले बिगोअनुसार हदैसम्मको कारबाही र कैद सजायको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै आयोगले आजै डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवनकुमार यादव र सवडिभिजन वन कार्यालय फुङलिङमा कार्यरत वन अधिकृत वीरेन्द्रप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जडीबुटी निकासी छुटपूर्जी दिएबापत उनीले रु दुई लाख घुस लिई रु एक/एक लाख बाँडफाँट गरेको पाइएको छ । आयोगले उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गरेको छ।

आयोगले नेपाल विद्युत् प्राधिकरणको तत्कालीन ‘फोरमेन’ टहलबहादुर कार्कीविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आजै मुद्दा दायर गरेको छ । आयोगले कार्कीले रु एक करोड नौ लाख ८७ हजार ६५८ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको जनाएको छ। बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।

त्यस्तै आयोगले सुवनल नगरपालिका–६ नवलपरासीका डोरबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्कीले रु ६५ हजार बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad