समाज


वडाध्यक्ष भन्छन्ः लाखौंको संख्यामा भित्रिएका सलहले नोक्सानी गर्न थालिसके

वडाध्यक्ष भन्छन्ः लाखौंको संख्यामा भित्रिएका सलहले नोक्सानी गर्न थालिसके

नेपालखबर
असार १३, २०७७ शनिबार ८:४१,

नेपालको बारा र सर्लाहीमा सलहको झुण्ड देखिएको छ। बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको कृषि मन्त्रालयले जनाएको छ।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसले गहुँ, तोरी, कपास, मकै लगायत खाद्यन्न बालीमा क्षति पुर्‍याउँछ। भरतहुँदै सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनीकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज (शनिबार) आकस्मिक बैठकसमेत बोलाएको छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमीसम्म समूह बनाएर उड्ने सलहको एक वर्गकिमीको समूहमा ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्। यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाद्यान्न नष्ट गर्नसक्ने वैज्ञानिकहरुले बताएका छन्।

शनिबार बिहान बाराको निजगढ नगरपालिका वडानम्बर १३ मा ठूलो संख्यामा सलह देखिएको वडाअध्यक्ष सूर्य घलानले बताए। सलह लाखौंको संख्यामा रहेको र तत्काल व्यवस्थापन गर्न नसके ठूलो खाद्य संकट निम्तिन सक्ने उनको भनाइ थियो।

उनीसँग नेपालखबरले गरेको कुराकानीः

तपाईंको वडामा आज देखिएका किराहरु सलह नै हुन?
म बिहान सुतिरहेको थिए। मलाई एक जना भाइले फोन गरेर सलहको झुण्ड आएको र मारिरहेको बताए। उठेर हेर्दा कोही गाउँलेहरुले सलहलाई लखेटिरहेको र कसैले मारिरहेको देखेँ। आकाशमा हेर्दा गाइने कीराजस्तो देखियो। समातेर हेर्दा फट्यांग्राजस्तो देखिँदो रहेछ। तर, फट्यांग्रा सेतो हुने यो चाँहि रातो हुने रैछ। हामीले टिभी, भिडियोमा देखेअनुसार यहाँ देखिएको कीरा पक्कै पनि सलह नै हो। सलह आएको थाहा भएसँगै मैले नगरप्रमुख, कृषि, भेटिनरीलगायतका सरकारी निकायमा पनि खबर गरिसकेको छु। अनुगमनमा पनि आउदैँ हुनुहुन्छ भन्ने जानकारी पाएको छु।

१३ नम्बर वडाबाहेक अरुतिर पनि सलह देखिएको खबर पाउनुभएको छ कि?
मेरो वडासँगै ११ र १२ वडामा देखिएको भन्ने पनि खबर पाएको छु। सिमरातिर पनि देखिएको भनेर भाइहरुले भिडियो हाल्दै थिए।

कति जति संख्यामा छन् यी? अनि कस्तो बालीमा बसेको देख्नुभयो?
मेरो वडामा मात्रै संकलन गर्यो भने यो लाखभन्दा कम छैन। एउटै ठाउँमा भन्ने छैन सबैतिर बसेका छन्। तर, एउटा भेगमा तीन÷चार सयको संख्यामा उडिरहेको देख्न सकिन्छ। अहिले यो झुण्ड मकै बाली, तरकारी, ठूलो रुख, बुट्यानमा बसेका छन्।

भिडियो:

 

अहिलेसम्म ती किराले के–कस्तो हानी–नोक्सानी पुर्‍याएका छन् त?
बैशाख जेठमा छरेको मकै बालीको पातहरु मात्रै सलहले खाएको भेटिएको छ। तर, पाकेको मकैमा भने असर गरेको देखिएको छैन।

यसको संख्या थपिँदो वा घट्दो कस्तो छ?
यसको संख्या घटेको देखिएको छैन। माथि आकाशमा उड्ने र फरि तल आएर बस्ने गरेको देखिएको छ। मान्छे भएनन् भने बालीमा थपक्क बस्ने, मान्छे आए उड्ने रहेछन्।

तपाईंको वडामा कतातिरबाट आए भन्ने केही निश्चित गर्नुभएको छ?
कताबाट आएका आधिकारिक रुपमा त केही छैन तर भारतबाट आएको भन्ने अनुमान छ। बारा जिल्ला नै भारतसँग जोडिएको छ। हाम्रो वडाबाट भारत ४० किलोमिटरकै हाराहारीमा पर्छ।

यी कीराको व्यवस्थापन चाँडो हुन नसके त्यहाँ के कस्तो क्षति पुग्ने अनुमान गर्नुभएको छ?
१३ नम्बर वडाका ९५ प्रतिशत जनता कृषिमा आवद्ध छन्। हामीले सुनेअनुसार यो झुण्डले केही मिनेटमा नै बालीनाली नास गर्छ, खाद्य संकट निम्त्याउँछ। यदि यसलाई न्यूनीकरण गर्न सकेनौं र अझै संख्या बढ्दै गयो भने यहाँ बालीनाली केही पनि बाँकी रहन्न।

तपाईंले त्यहाँको अवस्था सरोकारवालालाई जानकारी गराएपछि उहाँहरुको तदारुपकता कस्तो पाउनुभयो?
छैन, माथि(मन्त्रालय)बाट कसैको केही खबर आएको छैन। प्रदेशको कृषि शाखाबाट भने फोन आएको थियो। उहाँहरुले के कस्तो अवस्था छ भनि सोधपुछ गर्नुभयो, हामी अनुगमनमा आउँछौं भन्नुभएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad