ad ad

समाज


गाउँपालिका अध्यक्षले नै गरे गाउँसभा बहिष्कार, उपाध्यक्षको नेतृत्वमा बजेट पारित

गाउँपालिका अध्यक्षले नै गरे गाउँसभा बहिष्कार, उपाध्यक्षको नेतृत्वमा बजेट पारित

नेपालखबर
असार १२, २०७७ शुक्रबार ११:५०,

 झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ।

गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजारको वार्षिक बजेट पारित भएको जानकारी दिए।

उनले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफूले सभाको अध्यक्षता गरेको बताए। उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो।

गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेका अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको जनाउँदै सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको बताए।

गाउँकार्यपालिकाले वडागत बजेट वितरणमा बहुमतका आधारमा पेलेर समानुपातिक नीति नअपनाएको र जलथल पर्यटकीय सडकको नामकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेका विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आएका थिए। सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनुपरेको बताउँदै आएका छन्।

गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र उनी आफैँले कार्यकर्तालाई बोलाई सभाकक्षमा तोडफोड गराएको आरोप लगाए। हल्दिबारी गाउँपालिकामा अध्यक्षमा लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तथा उपाध्यक्ष गिरी तत्कालीन नेकपा (एमाले(का तर्फबाट निर्वाचित भएका थिए।

गाउँपालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दछन्। परिषद्मा नेकपाको दुई तिहाइ बहुमत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .