कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कोरोना संक्रमितलाई लक्षण नदेखिएको भन्दै क्वारेन्टिनमा नै राखिएको छ। बुधबार र बिहीबार कोरोना संक्रमण पुष्टि भएका कृष्णपुर नगरपालिकाका एक सय ६ संक्रमितलाई अस्पताल नलगेर क्वारेन्टिनमै राखिएको हो।
महाकाली अस्पतालको आइसोलेसन खाली रहेको अवस्थामा पनि कृष्णपुरका संक्रमितलाई अस्पताल ल्याइएको छैन। ५० शय्या क्षमताको आइसोलेसन रहेको महाकाली अस्पतालमा अहिले १७ जना संक्रमित मात्रै उपचाररत छन्। अस्पतालको आइसोलेसनका ३३ शय्या खाली छन्। यद्यपी संक्रमितलाई भने क्वारेन्टिनमै हुलिएको छ।
लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार संक्रमितलाई अस्पताल नपठाइएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले नेपालखबरलाई बताए।
कृष्णपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ८ छ। दुई दिन अगाडि शुन्य संक्रमित रहेको कृष्णपुरमा संक्रमित ह्वात्तै बढेर जिल्लाभरका संक्रमितको झण्डै आधा पुगेको हो। जिल्लाभर कोरोना संक्रमितको संख्या २ सय ६१ जना पुगेको छ।
दीर्घरोगी समेत रहेका कृष्णपुरका दुई जना संक्रमितलाई महाकाली अस्पताल पठाइएको नगर प्रमुख हमालले बताए। अरु सबै संक्रमित भने आफू बसेको क्वारेन्टिनमै रात काट्दै छन्।
संक्रमण पुष्टि भए पछि छुट्टै आइसोलेसनमा राख्नु पर्ने भए पनि कृष्णपुरमा भने संक्रमितलाई अहिलेसम्म आइसोलेसनमा ल्याइएको छैन। ५०/५० शय्याका तीन आइसोलेसन तयार भएकाले संक्रमितलाई भोलि त्यहाँ सारिने नगर प्रमुख हमालले बताए।
कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ४ को कृष्ण माध्यमिक विद्यालय र ८ नम्बर वडाको विणा माध्यमिक विद्यालय रैकवारमा ५०/५० शय्याको आइसोलेसन तयार भएको छ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका बिरामीहरुलाई घरमै आइसोलेसन राख्ने नीतिअनुरुप नयाँ निर्देशिका जारी गरेको छ। सो निर्देशिकामा घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने नियमहरु तोकिएको छ।
तर क्वारेन्टिन अव्यवस्थित हुँदा त्यहाँ बसेका कृष्णपुर नगरपालिकाका संक्रमितले भने त्यो नियम पालन गर्न समेत नपाएको गुनासो गरेका छन्।

प्रतिक्रिया