कोरोनाको अवस्था नियन्त्रणमा भएको बताइएपनि चीनमा केही समययता कोरोना संक्रमितहरु थोरै मात्रामा भएपनि थपिँदै गएका छन्।
बेइजिङमा शनिबार ६ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए। स्थानीयबाट स्थानीयमै कोरोना संक्रमण भएको देखिएपछि हाल बेइजिङका केही स्थानमा लकडाउन गरिएको छ।
विज्ञहरुले कोरानाको दोस्रो लहर चीनमा देखापर्ने चेतावनी दिइरहँदा आइतबार चीनमा अप्रिलयताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
आइतबार चीनमा ५७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार ३८ संक्रमितहरु स्थानीय संक्रमितबाट बिरामी परेका हुन्। जसमध्ये ३६ संक्रमित बेइजिङका हुन्।
बेइजिङमा स्थानीयबाट स्थानीयमा कोरोनाको खतरा बढेपछि युद्धस्तरमा त्यहाँ कोरोनाविरुद्धको उपाय फेरि अबलम्ब गरिएको छ।
हाल बेइजिङका केही स्थान लकडाउन गरिएको छ भने पर्यटनसँग सम्बन्धित कार्यक्रमहरु रद्द गरिएको छ।
कोरोना संक्रमितहरु घट्नासाथ केही देशले लकडाउन खोलेका कारण कोरोनाको दोस्रो लहर देखिन सुरु भएको डब्लूएचओले चेतावनी दिएको छ। एजेन्सी

प्रतिक्रिया