गुल्मीमा अर्का एक व्यक्तिको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको संक्रमणको कारण शनिबार राति मृत्यु भएको तम्घास अस्पतालका डा.कविराज भुसालले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न भने बाँकी छ।
उनी यही जेठ २ गते भारतबाट घर आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो।
त्यसलगत्तै थप उपचारका लागि उनलाई १३ जेठमा तम्घासस्थित आइसोलेशनमा राखिएको थियो। उनी दुई वर्षदेखि क्यान्सर र पायल्स समस्याबाट पीडित रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
उनलाई थप उपचारका लागि बुटबल लैजान खोज्दा अस्वीकार गरेका रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए।
सुरक्षाकर्मीको समूहले गए राति नै जैसीथोकस्थित जङ्गलमा शव व्यवस्थापन गरेको छ।
जिल्लामा कोरोना सङ्क्रमित ११ जना छन्। दुई जना कोरोना जितेर घर फर्केका छन्। तीन साता अघि गुल्मीकै ४१ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको थियो।
गुल्मी मदाने गाउँपालिका–६ का उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया