असार ७ गते वलय सूर्यग्रहण लाग्दैछ। एसिया र अफ्रिकाका बिभिन्न देशमा लाग्ने सूर्यग्रहण नेपालमा खण्डग्रासको रुपमा देखिने छ।
त्यो बेला नेपाली भूभागमध्ये मुलुककै उत्तरपश्चिम बिन्दु लिम्पियाधुराबाट हेर्दा सूर्य सबैभन्दा धेरै छेकिनेछ।
सूर्यलाई चन्द्रमाले छेक्दा बाहिरतर्फ चुराको घेरा जस्तो उज्यालो देखिन्छ। त्यस्तो ग्रहणलाई वलय ग्रहण भनिन्छ।
भारतको अतिक्रमणमा रहेको र नेपालले हालै आफ्नो नक्सामा समेटेको नेपाली भूमि लिम्पियाधुरा क्षेत्रबाट सो ग्रहणका बेला साढे ९८ प्रतिशत सूर्य ढाकिने विज्ञहरुले बताएका छन्।
सो बेला वलय ग्रहणको मार्गमै पर्ने भारतको उत्तराखण्डस्थित नन्दादेवी पर्वत नेपालको सुदूरपश्चिमबाट नजिक पर्छ।
नन्दादेवी पर्वतको आसपासको २१ किलोमिटर क्षेत्रमा वलय सूर्यग्रहण देखिने छ। अन्य क्षेत्रमा खण्डग्रासको रुपमा देखिनेछ।
लिम्पियाधुरा क्षेत्रमा बिहान १० बजेर ४५ मिनेटमा सूर्यग्रहण सुरु हुनेछ भने मध्यान्ह १२ बजेर २८ मिनेटमा मध्य हुनेछ।
३ घण्टा २७ मिनेटको खण्डग्रास अपरान्ह २ बजेर १२ मिनेटमा समाप्त हुनेछ।
‘सन् २००९ को खग्रास सूर्यग्रहणपछि नेपालमा यति धेरै सूर्य ढाकिने गरी सूर्यग्रहण हुन लागेको यो पहिलो पटक हो,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने, ‘यसैगरी ढाकिएर सूर्यग्रहण हुनका लागि आधा शताब्दीभन्दा बढी समय कुर्नुपर्ने हुन्छ।’
२०६६ साउनमा परेको खग्रास सूर्यग्रहण नेपालको पूर्वी भूभागबाट देखिएको थियो।
तर मनसुनको समय भएका कारण त्यसलाई धेरै नेपालीले प्रष्ट छुट्याउन पाएनन्।
‘यसपटक आकाश खुला होस् भन्ने कामना गरौं,’ भट्टराईले भने, ‘विभिन्न समयमा सूर्यग्रहण लाग्ने भएपनि यति धेरै ढाकिएर सूर्यग्रहण लाग्ने अब सन् २०७४ मा मात्रै हो।’
औसी तिथीको दिनमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ।
चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्दा अण्डाकारमा गर्छ। त्यसले चन्द्रमा कहिले नजिक र कहिले पर पुग्छ। पृथ्वीबाट पर पुगेको अवस्थामा चन्द्रमाले सूर्यलाई पुरै ढाक्न सक्दैन। त्यसलाई वलय सूर्यग्रहण भनिन्छ।
यसअघि गत पुसमा पनि वलय सूर्यग्रहण लागेको थियो।
पुस १० मा वलय सूर्यग्रहण लागेपनि नेपालमा खण्डग्रास मात्रै देखिएको थियो।
अगामी साता लाग्ने सूर्यग्रहण अफ्रिकाको डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा वलय आकार लिनेछ भने अन्य मुलुकहरु दक्षिण सुडान, इथियोपिया, इरिट्रिया, यमन, ओमान, पाकिस्तान, भारत र चीनका विभिन्न स्थानमा पनि ग्रहण देखिने छ।
त्यसैगरी एसिया, अफ्रिकाका विभिन्न देश, युरोप अस्ट्रेलियाबाट खण्डग्रास सूर्यग्रहण देखिने छ।
काठमाडौं उपत्यकामा १० बजेर ३५ मिनेटमा सुरु हुने सूर्यग्रहण साढे तीन घण्टा रहनेछ।
१२ बजेर ३१ मिनेटमा मध्य हुँदा काठमाडौंमा ८६ प्रतिशतले सूर्य ढाकिने छ। सूर्यग्रहण दिउँसो २ बजेर २४ मिनेटमा समाप्त हुनेछ।
पश्चिम नेपालमा भने ग्रहण १० बजेर ४२ मिनेटमा सुरु हुनेछ।
महेन्द्रनगरमा १२ बजेर २५ मिनेटमा मध्य हुनेछ। त्यस समयमा चन्द्रमाले सूर्यको ९३ प्रतिशत अंश ढाक्नेछ।
पूर्वको भन्द्रपुरमा भने बिहान ११ बजेर १ मिनेटमा सूर्यग्रहण सुरु हुने र सो स्थानमा ग्रहण मध्य हुँदा ८१ प्रतिशत भाग मात्रै ढाकिन्छ।
नेपालको दक्षिणपूर्वी बिन्दुमा ८० प्रतिशत मात्रै ढाक्नेछ। ग्रहणको अवधि ३ घण्टा ३० मिनेट हुनेछ।
प्रतिक्रिया