भारत पछिल्लो सयम कोरोनाबाट निकै प्रभावित बन्दै गएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा एकैदिनमा ११ हजार ४५८ जना संक्रमित भएका छन्।
एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण भारतमा ३८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९९३ पुगेको छ।
कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३३० जना क्रमण मुक्त भएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८८४ पुगेको छ।
भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन्। त्यस प्रदेशमा १ लाख १ हजार १४१ जना सङ्क्रमित भएका छन्।
दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८२८ जना सङ्क्रमित रहेका छन्।
पछिल्लो समय कोरोनाको केन्द्र बनेको भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको चौथोस्थानमा छ। भारतभन्दा बढी प्रभावित राष्ट्र अमेरिका, ब्राजिल र रुस हुन्। एजेन्सी
Shares

प्रतिक्रिया