गएको सोमबार दिउँसो ३२ वर्षीय सञ्जु खातुन घर अगाडिको सडक पेटीमा बिछ्यौना ओछ्याएर पल्टेकी थिइन्। साथमा उनको १२ वर्षीय कान्छो छोरो अल्ताफ अन्सारी पनि थिए।
विदेशबाट छिमेकीको मोबाइलमा सञ्जुको फोनको घण्टी बज्यो। ‘तपाईंको फोन आयो’ भन्दै ती छिमेकी मोबाइल दिन आए। ‘विदेशबाट कसको फोन हो’ भन्दै ओछ्यानबाट हतार हतार उठेर सञ्जुले फोनमा कुरा गर्न थालिन्। एकछिनमै सञ्जुको अनुहार निलो, कालो भयो। आँखाबाट आँसुको भेल बग्न थाल्यो। उनी चिच्याउन, कराउन थालिन् र मुर्छित् भइन्।
सञ्जुको त्यो फोन उनकै माइती पक्षको एक भतिज पर्नेले साउदी अरेबियाबाट गरेका थिए। ११ वर्षअघि ट्रक दुर्घटनामा पति अन्बर अन्सारी गुमाएकी सञ्जुको लागि यो अर्को होस उडाउने दुखद खबर थियो। दुईवर्ष अघि मजदुरीका लागि छिमेक देश भारतको राजधानी नयाँ दिल्ली गएका जेठो छोरा १६ वर्षका रोस्तम अन्सारीको अकाल मृत्युको खबर।
छरछिमेकहरु के भयो, के भयो भन्दै दगुरेर आए। घरको एकमात्र सहारा जेठो छोरोको मृत्युको खबरले सञ्जुको घरसहित गाउँ शोकमा डुब्यो।
महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसराम गाउँमा बस्ने सञ्जुले नयाँ दिल्लीको एक सिलाई कारखानामा काम गर्ने जेठो छोरा रोस्तमले खान नपाएर भोकले ज्यान गुमाएको खबर पाइन्। सञ्जुले खबर पाउनु दुईदिनअघि नै रोस्तमको मृत्यु भएको उनका सहकर्मीहरुको भनाइ छ। तर सिलाई कारखानाका मालिकले खबर नगरेको कारण २–३ दिनपछि मात्र रोस्तमको माबली हुँदै विदेशबाट मृत्युको खबर आएको आमा सञ्जुले बताइन्।
‘दुई तीनदिन अघि नै रोस्तमको मृत्यु भइसकेको रहेछ, कारखानाका मालिकले घरमा जानकारी दिएनन्’, सञ्जुले भक्कानिदै शुक्रबार साँझ नेपाखबरसँग भनिन्, ‘मेरो माइत हुँदै विदेशमा रहेका भतिजले फोन गरेर रोस्तमको मृत्यु भयो भन्ने जानकारी दिए।’
छोरो दिल्ली गएको दुईवर्ष दुई महिना पूरा भएको उनले बताइन्।
‘एकमहिना अघि सीमापारी भारतको सुरसन्ड जाँदा छोरासँग फोनमा थोरै कुरा भएको थियो, मालिकले मनभरि कुरा गर्न पनि दिएनन्’, उनले सम्झिइन्।
दिल्लीमा रोस्तम काम गर्ने कारखानाले ३–४ जना किशोरहरुलाई महिनामा जम्मा आठसय रुपैयाँ मात्र खानाका लागि दिएको र श्रम शोषण गर्ने गरेको सँगै काम गर्ने छिमेकीहरूले बताएका छन्। रोस्तमलाई घर फर्किन दिन उनलाई दिल्ली पुर्याउने व्यक्ति र कारखाना मालिकलाई पटक पटक आग्रह गर्दा पनि गएदेखि आउन दिएका थिएनन्। लकडाउनमा मालिकबाट पाएको आठसय रुपैयाँले खाना खान नपुगेको आफुलाई एकमहिना अघि सुरसन्डबाट फोनमा कुरा हुँदा छोराले भनेको आमा सञ्जुले बताइन्।
कोरोना संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन गरेपछि मालिकले तीन जनालाई खानपानका लागि जम्मा आठसय रुपैयाँ दिएका थिए। पैसा सकिएर खान नपाएपछि रोस्तम र उनीसँगै गएका उनका छिमेकी किशोर इन्ताज अन्सारी र मेहबुब अन्सारीले मागेर भोक टार्दै आएका थिए। मालिकको कडा निगरानीमा बस्नु परेको कारण खाना जुटाउन अन्यत्र जान पनि नसक्दा रोस्तमको मृत्यु भएको उनका सहकर्मीहरुले घरमा फोन गरी जानकारी दिएको छिमेकी रमेशकुमार साहले बताए।
‘रोस्तमको मृत्युपछि उनीसँगै गएका छिमेकी इन्ताज र मेहबुब भाग्न खोज्दा उनीहरुलाई रेल चढाएर कारखानाका मालिकले पठाएका रहेछन्’, रमेशकुमार साहले भने, ‘दुबैजना सीमापारी आएर क्वारेन्टिनमा बसेका छन्।’
रोस्तम, इन्ताज र मेहबुब तीनै जनालाई छिमेक गाउँ सहसरामकै हारुन अन्सारीले नयाँ दिल्ली लगेका थिए। नयाँ दिल्लीमा आफ्नो एकजना दोस्तको सिलाई कारखाना रहेको बताउँदै त्यहाँ गए इलम सिके राम्रो पैसा कमाउन सकिने आश्वासन दिएर हारुनले रोस्तमलाई पठाएका थिए। आमा सञ्जुको स्वीकृतिमा १४ वर्षकै उमेरमा रोस्तम छिमेक इन्ताज र मेहबुबसहित नयाँ दिल्ली पुगेका थिए।
‘मोहमद हारुनले इलम सिकेर राम्रो पैसा कमाउने प्रलोभन दिएर मेरो रोस्तमलाई लगे, तर भोकले तड्पाई तड्पाई मारे’, आक्रोशित सञ्जुले भनिन्, ‘छोराले अहिलेसम्म २ हजार रुपैयाँ पनि पठाएको छैन। हारुनले नै मलाई दुई तीनपटक दुई सय, चार सय रुपैयाँ दिएर टार्दै आएका थिए।’
छोरो दिल्लीबाट फर्काउन पटक पटक प्रयास गरेपनि सञ्जु सफल हुन सकेकी थिइनन्।
‘छोरा गएको धेरै भैसक्यो, जवान भइसक्यो होला नेपाल फर्काइदिनुस् भनेर आग्रह गर्दा हरुन र कारखानाका छोटे मालिक अहिले फर्किन मिल्दैन भन्थे’, उनले भनिन्, ‘अब त छोराको जिउँदो अनुहार कहिले हेर्न पाउँदिन। हारुन, कारखाना मालिक डा आलम र उनका कान्छो भाई छोटे भन्नेले नै मेरो छोरालाई भोकले तड्पाई तड्पाई मारेका हुन्। उनीहरुमाथि कडा कारबाही होस्।’
रोस्तम काम गर्ने दिल्लीको कारखानाका मालिक डा आलम भन्ने व्यक्ति सीमापारी भारतको सुरसन्ड बराहीका हुन्। मनरासिसवा वडा नं. ८ का वडाध्यक्ष राधेश्याम तिवारीले यो घटनापछि मृतकका परिवार केही गाउँलेसहित सुरसन्ड बराही पुगेर पुगेर कारखाना मालिकसँग छलफल गरेको बताए।
दिल्लीबाट मृतक रोस्तमको शव नेपाल ल्याउने तयारी भइरहेको छ। सीमापारी ल्याएपछि शव कसरी घर ल्याउने भन्ने विषयमा प्रहरीसँग समन्वय भइरहेको तिवारीले बताए।
‘खान नपाएर आफ्नो वडाबासी विपन्न परिवारका किशोरको मृत्यु भएको खबरले हामी निकै दुखी भएका छौं’, वडाध्यक्ष राधेश्याम तिवारीले भने, ‘अब मृतकको शव ल्याउन प्रहरी प्रशासनसँग समन्वय गरिरहेका छौं।’
वडाध्यक्ष तिवारीले हारुनले रोस्तमलाई दिल्ली लगेको र उनलाई घर फर्किन नदिएको, पैसा पनि नदिने गरेको आफुलाई कहिल्यै थाहा नभएको बताए।
‘मैले थाहा पाएको भए जसरी पनि पठाउने व्यक्तिलाई समातेर घर फर्काउँथे, अब त्यो समय पनि बाँकी रहेन’, तिवारीले दुख मान्दै भने।
घटनाको छानविन गरी दोषीमाथि कारबाही गर्न आफुले कुनै कसर बाँकी नराख्ने वडाध्यक्ष तिवारीले बताए।
यो पनिः
‘खान नपाएर’ नयाँ दिल्लीमा एक नेपाली युवकको मृत्यु
प्रतिक्रिया