ad ad

समाज


क्वारेन्टिनको के कुरा, कोरोना अस्पतालमै छैनन् विशेषज्ञ डाक्टर

क्वारेन्टिनको के कुरा, कोरोना अस्पतालमै छैनन् विशेषज्ञ डाक्टर

सागर न्यौपाने
जेठ २३, २०७७ शुक्रबार १५:३७,

सरकारले क्वारेन्टिन कस्तो हुने भन्ने प्रोटोकल बनाएको छ। जसमा क्वारेन्टिन अस्पतालनजिक हुनुपर्ने, एम्बुलेन्स तयारी अवस्थामा राखिनुपर्ने, क्वारेन्टिनमा बसेकाहरुलाई चिकित्सक र सुरक्षाकर्मीको निगरानी हुनुपर्ने उल्लेख छ।

तर, सरकारी प्रोटोकल पालना नहुँदा क्वारेन्टिनमा बसेकाहरुको उपचारै नपाई ज्यान गइरहेको छ। त्यति मात्र होइन, सरकारले तोकेको कोरोना उपचार गर्ने अस्पतालमै विशेषज्ञ डाक्टरको अभाव देखिएको छ।

तत्काल उपचार पाएको भए बाँके, नरैनापुर गाउँपालिकाको क्वारेन्टिनमा बसेका २५ वर्षीय युवाले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो।

भारतबाट आएर नरैनापुरको क्वारेन्टिनमा बसेका ती युवाको जेठ ४ गते बिहान ज्यान गएको थियो। चिकित्सकको निगरानी र उपचार अभावकै कारण एक्कासि उनको मृत्यु भएको विज्ञहरु बताउँछन्।

त्यसयता पनि हालसम्म मृत्यु भएका १० जनामध्ये अधिकांशको ज्यान गइसकेपछि मात्रै कोराना संक्रमण पुष्टि हुँदै आएको छ।

‘क्वारेन्टिनमा कमजोरी भयो, सीमामै चिकित्सक टोलीले परीक्षण गनुपर्थ्यो, त्यहाँ केही लक्षण भए तत्काल अस्पताल लगेर उपचार गर्नुपर्ने थियो, तर त्यसो भएन,’ संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले भने, ‘जसका कारण क्वारेन्टिनमा मानिसहरुको ज्यान गइरहेको छ।’

प्रदेश ५ मा शुक्रबारसम्ममा ४ जनाको मृत्यु भइसकेको छ। तीमध्ये गुल्मीका एक व्यक्तिको कोरोना पुष्टि भइसकेपछि मृत्यु भएको थियो भने अन्य ३ जनाको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

हालसम्म प्रदेश ५ मा संक्रमितको संख्या ९ सय ६५ पुगेको छ।

प्रदेशभरका क्वारेन्टिनमा प्रोटोकल अनुसार हुनुपर्ने चिकित्सक त छैनन् नै कोरोना उपचारका लागि तोकिएका ४ वटा अस्पतालमा समेत दक्ष र अनुभवी डाक्टर पर्याप्त नभएको प्रदेश सरकारले जनाएको छ।

संक्रमित बढ्दै गएको सो प्रदेशले बुटवल, दाङ, बाँके र लुम्बिनी प्रादेशिक अस्पताल गरी चार स्थानमा संक्रमित राखेर उपचार गरिरहेको छ।

उता, बाजुराको जिल्ला अस्पताल पुर्‍याइएकी २ वर्षीया बालिकाको १८ जेठमा मृत्यु भयो। भारतबाट आमासँगै नेपाल आएकी ती बालिकालाई क्वारेन्टिनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पताल बाजुरा भर्ना गरिएको थियो।

‘क्वारेन्टिनमा राखेको बेला पनि चिकित्सकको निगरानी भएन भने संक्रमितको अवस्था नाजुक हुन पुग्छ, क्वारेन्टिन निगरानी प्रोटोकल पनि छ तर, त्यसलाई कार्यान्वयन गरिएन,’ डा. सुवेदीले भने।

क्वारेन्टिनमा बालिकाको अवस्था नाजुक हुँदै गएपछि अस्पताल लगिएको र त्यहाँ पुर्‍याउनेबित्तिकै सकेसम्म सबै प्रयास गरिएको अस्पतालले जनाएको छ।

‘बालिकामा गम्भीर समस्या देखिएपछि आईसीयू र भेन्टिलेटरमा राखिनुपथ्र्यो। तर, जिल्ला अस्पतालमा त्यो सुविधा हुँदैन,’ सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए।

बालिकाको मृत्यु भएपछि पनि मृत्युको कारण पत्ता लगाउन नसकिएको उनको भनाइ छ।

‘सडेन डेथ भएको छ तर त्यसको कारणको पहिचान नै भएको छैन,’ डा. कमरले नेपालखबरसँग भने, ‘यस्तै अवस्थाका लागि आईसीयू र क्रिटिकल केयर आवश्यक पर्ने हो। त्यो अभाव भयो।’

कोरोना अस्पतालमै छैनन् आवश्यक डाक्टर
सूदुरपश्चिमको सेती प्रादेशिक अस्पतालमा पनि जनशक्ति र स्रोत साधनको चरम अभाव छ। ४० वर्ष अगाडिको जनशक्तिले अहिलेको महामारीको समयमा काम गरिरहेको अस्पतालका अर्का एक डाक्टरले बताए।

‘पर्याप्त जनशक्ति, स्रोत साधनको अभाव मात्र होइन विशेषज्ञ चिकित्सकको पनि अभाव छ,’ ती डाक्टरले भने, ‘कतिपय अवस्थामा जटिल बिरामी आए छुट्टै अनुसन्धान गर्नुपर्छ, त्यसका लागि विशेषज्ञ चिकित्सक आवश्यक पर्छ।’

सरकारले कोरोनाको उपचार गर्न एक सय १० अस्पताल तोकेको छ। तर, काठमाडौं, पोखरा, धरानजस्ता ठूला सहरबाहिरका त्यस्ता अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव छ।

दैनिक संक्रमित थपिँदै जाँदा अस्पतालमा भीड लाग्न थालेको छ भने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको अस्पतालहरुले बताएका छन्।

वास्तवमा गम्भीर बिरामी बढ्न थालेपछि अब विशेषज्ञ चिकित्सकको खास आवश्यकता पर्ने डा. सुवेदी बताउँछन्।

‘आजसम्म लक्षण नभएकाहरु अस्पतालमा राखिएका छन्। तिनीले अरुलाई संक्रमण सार्न नदिऊन् भनेर मात्र अस्पताल राखिएको हो, त्यस्ता संक्रमितलाई विशेषज्ञ चाहिँदैन,’ डा. सुवेदीले भने, ‘जटिल केस हुँदा आइसीयू र भेन्टिलेटर सहित विशिष्ट विशेषज्ञ डाक्टर आवश्यक पर्छ, त्यसको तयारी राम्रो भएको देखिँदैन।’

सरकारले कोरोना उपचारका लागि अस्पतालहरुलाई तीन तहमा वर्गीकरण गरेको छ। जसमा विशिष्ट विशेषज्ञ उपलब्ध रहेको अस्पताल, विशेषज्ञ र मेडिकल अफिसर रहेको अञ्चल तथा प्रादेशिक अस्पताल र मेडिकल अफिसर, एचए रहेको जिल्ला अस्पताल छन्।

हाल कोरोनाको उपचार मुख्य गरी जिल्ला अस्पतालले गरिरहेका छन्। तर, त्यस्ता अस्पतालमा जनशक्ति, स्रोत र साधन भने अभाव छ।

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले अस्पताल अनुसार विशिष्ट, विज्ञ जनशक्ति र स्रोतसाधन हुनुपर्ने बताए।

‘कुन स्तरको अस्पताल हो, सोही अनुसार चिकित्सक चाहिन्छन् अहिले कोरोनाको संक्रमणको बेलामा विज्ञ डाक्टर भए राम्रो हुन्छ,’ डा. पाण्डेले भने, ‘आईसीयू सेटअप गर्नुपर्ने अवस्थामा क्रिटिकल केयरको चिकित्सक नै आवश्यक पर्छ।’

कोरोना सरुवा रोग भएकोले यसको पनि विज्ञ चिकित्सक सबै अस्पतालमा पठाउन सके राम्रो हुने उनले बताए।

प्रायः सबै अस्पतालमा अहिलेको कोरोनाको उपचार गर्न भने फिजिसियन डाक्टर खटिएका छन्।

संक्रमितको संख्या निरन्तर बढ्दै
कर्णाली प्रदेशमा शुक्रबार साँझसम्ममा संक्रमितको संख्या ४ सय ७९ पुगेको छ। सो प्रदेशमा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ।

त्यहाँ कोरोना संक्रमितको उपचार गर्न तोकिएको अस्पताल दुईवटा छन्– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पताल। त्यहाँ पनि आवश्यक पर्ने जनशक्ति अभावमै काम भइरहेको छ।

गण्डकी प्रदेशमा ५७ जना संक्रमित छन्। पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार गरिरहेको छ, जहाँ सुविधासम्पन्न ल्याब समेत छ।

उता प्रदेश २ को अवस्था झन् विकराल छ। शुक्रबार साँझसम्म ९ सय ९३ जना संक्रमित रहेको सो प्रदेशमा एक जनाको मृत्यु भएको छ। मृत्युको ७ दिनपछि मात्रै ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।

तर, उनको मृत्युको कारणबारे अनुसन्धान नै नभएकोमा डाक्टरहरुले असन्तुष्टि जनाएका छन्।

‘मृत्यु भयो रिपोर्ट कोरोना पोजिटिभ आयो, अनि अरु अनुसन्धान नै भएन, यसले समस्या पार्ने देखिन्छ,’ प्रदेशका एक डाक्टरले गुनासो गरे।

संक्रमितको संख्या निरन्तर बढ्दै जाँदा गम्भीर खालका बिरामीलाई मात्र अस्पतालमा राख्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका थिए।

लक्षण नभएकालाई घरमा राख्ने र गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल राख्ने निर्णयले थप समस्या ल्याउन सक्ने डा. सुवेदी बताउँछन्।

‘क्वारेन्टिनमा लक्षण नदेखिएको तर, घर पुगेपछि मृत्यु भएका केस देखिइसके,’ डा. सुवेदीले भने, ‘यसले त समुदायमा जोखिम फैलाउने खतरा बढाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .