समाज


बूढानीलकण्ठमा व्यापार तथा ओसारपसार सहज

बूढानीलकण्ठमा व्यापार तथा ओसारपसार सहज

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १४:५०,

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ।

नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बनाउने निर्णय गरेको हो।

बैठकले विकासनिर्माणका सामग्रीको खरीदबिक्री सामाजिक दूरी कायम गरी खुला गर्ने निर्णय गरेको छ। अत्यावश्यकबाहेकका फेन्सी, कपडा, स्टेशनरी र विद्युतीय सामग्रीको खरीदबिक्री बिहान १० बजेसम्म खोल्ने बताइएको छ।

त्यस्तै नगरभित्र काम गर्ने कामदार, मर्मतसम्भार कार्यकर्ता र मिस्त्रीलाई साइकल र मोटरसाइकलमा हिँड्न दिने व्यवस्था गरिने नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए। उनका अनुसार हरेक पसलमा हात धुने व्यवस्था, स्यानिटाइजर, सामाजिक दूरी रेखासहित घेरा बनाई अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्दिर, चर्च, मस्जिद, मेला, भोज, पार्टी, जात्रालगायत कार्य भने पूर्ण बन्द गरेको सो बैठकले नगरपालिकामा सञ्चालित ब्युटीपार्लर, सैलुन, होटल, रेष्टुँरा, जिमखाना र क्लब खोल्न नपाइने निर्णय गरेको छ। सामूहिक हाट र सडक व्यापार जस्ता भीड हुने स्थल बन्द गर्ने नगरपालिकाले जनाएको छ।

बैठकले नगरमा स्थायी वा अस्थायी बसोबास गर्ने र विदेशमा अध्ययन, रोजगार तथा अन्य कामले रहेका व्यक्तिबारे सही विवरण बुझाउन र नगरपालिकाले तयार गरेको डिजिटल फाराम भर्न सम्बन्धित परिवारमा आग्रह गरेको छ।

प्रत्येक वडामा क्वारेन्टिन
नगरपलिकाले प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ। कोभिड–१९ को जोखिम बढ्दै गएकाले संङ्क्रमण रोकथामका लागि प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्न थालिएको नगर प्रमुख उद्धवप्रसाद खरेलले बताए। नगरपालिकाका वडा नं १, २, ८, १०, ११, १२ र १३ मा क्वारेन्टिन निर्माण गरिसकिएको बताइएको छ।

‘निर्माण गरिएको क्वारेन्टिनमा १५ देखि ३० बेडसम्म रहेको छ’, प्रमुख खरेलले भने। अन्य वडामा पनि निर्माण भइरहेको जानकारी उनले दिए। हालसम्म नगरपालिकामा दुई सय शय्याको क्वारेन्टिन निर्माण भएको छ।

राहतका लागि रोजगार
नगरपालिकाले विपन्नलाई राहतको सट्टा रोजगारी दिने भएको छ। नगरमा बसी ज्याला मजदूरी गर्ने बेरोजगारलाई काम र खानाको समस्या परी राहतको जरुरी भए आफूले गर्न सक्ने काम रोजगारीका लागि वडा कार्यालयमा दर्ता गर्न सूचना गरिएको छ।

लकडाउनदेखि नै नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो। खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदूर तथा विपन्न परिवारलाई राहत बाँडिएको नगरापालिकाले जनाएको छ।

दुई कोरोनामुक्त
नगरपालिकामा दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन्। सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीलाई जेठ ३ गते पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएकामा तीनचार पटकसम्मको परीक्षणमा नेगेटिभ देखिएपछि घर फर्काइएका हुन्।

यस्तै बूढानीलकण्ठ–३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा जेठ १२ गते कोरोना भाइरस पुष्टि भएपछि शुक्रराज अस्पतालको आइसोलेशनमा राखी उपचार गरिएको थियो। तीन पटकसम्मको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएपछि पाँच दिनमा घर फर्काइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad