मंगलबार थप २८८ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना पुष्टि भएको बताए।
अहिलेसम्म प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश २ मा ८ सय १६ र सबैभन्दा कम गण्डकी प्रदेशमा ३७ रहेको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।
मंगलबार अपरान्हसम्म ७५ हजार ३४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख १६ हजार ३४५ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४४० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए।
नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।
सुरुमा नेपालमा संक्रमणको दर थोरै रहे पनि पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
याे पनि: नेपालमा अहिलेसम्मकै बढी संक्रमित थपिए, आज मात्रै २८८ जनामा कोरोना पुष्टि
जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले पनि परीक्षण बढाउनुको विकल्प नरहेको बताउँछन्। उनले परीक्षणको दायरा बढाउँदै लैजाने हो भने संक्रमित पनि बढ्दै जाने बताए।
‘जति देखियो त्यो केही मात्रा हो, संक्रमण भित्र व्यापक छ, कन्ट्याक्ट टे«सिङ र टेस्टिङ गरौं, संक्रमित पत्ता लाग्छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भने।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको १०६ दिनपछि संक्रमितको संख्या १०० नाघेको थियो।
गत वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो भने त्यसको ५ दिनपछि वैशाख ३० गते संक्रमितको संख्या २१७ पुगेको थियो।
सुरुमा नेपालमा संक्रमण दर न्यून रहे पनि पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ। अहिलेसम्म कुल संक्रमितको संख्या २ हजार ९९ पुग्दा ८ जनाको मृत्यु भइसकेको छ भने २६६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।
चीनबाट नेपालमा कोरोना भित्रिएको भए पनि पछिल्लो समय भारतबाट आउने नेपालीहरु बढी संक्रमित भएको पाइएको छ।
पछिल्लो समय भारतबाट आएका र क्वारेन्टिनमा रहेका धेरैमा संक्रमित देखिएको भन्दै परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै बढ्ने विज्ञले बताउँछन्।
गत बुधबार पहिलोपटक संक्रमितको संख्या पहिलोपटक १०० नाधेको थियो भने मंगलबार (आज) आइपुग्दा यो संख्या झण्डै ३ सयको हाराहारीमा पुगेको छ।
मंगलबारसम्ममा नेपालका ६१ जिल्लामा संक्रमण देखिएको छ। कोरोनाबाट सबैभन्दा बढी प्रदेश ५, २ र १ बढी प्रभावित भएका छन्।

प्रतिक्रिया