ad ad

समाज


नेपालका कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढी पछिल्लो एक हप्ताका

नेपालका कुल कोरोना संक्रमितमध्ये आधाभन्दा बढी पछिल्लो एक हप्ताका

नेपालखबर
जेठ १७, २०७७ शनिबार १२:३७,

नेपालका कुल कोरोना संक्रमितमध्ये पछिल्लो एक हप्तामा आधाभन्दा बढी संक्रमित थपिएको पाइएको छ।

शनिबार (आज) अपरान्हसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ। जसमध्ये आधाभन्दा बढी अर्थात ८१७ जनामा पछिल्लो हप्ता संक्रमण पुष्टि भएको हो।

यो कुल संक्रमित संख्याको आधाभन्दा पनि १ सय १६ ले बढी हो।

बुधबारबाट नेपालमा दैनिक संक्रमितको संख्या सय कटेको र शनिबार आइपुग्दा यो संख्या झण्डै २ सयको हाराहारीमा पुगेको छ।

देशभर गरेर आइतबार १९, सोमबार ७९, मंगलबार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ११४, बिहीबार १५६, शुक्रबार, १७० जनामा कोरोना पुष्टि भएको थियो।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुका ७७ सहित १८९ जनामा संक्रमण देखिएको बताए। यो अहिलेसम्मकै दैनिका संक्रमितको संख्यामा सबैभन्दा बढी हो।

नेपालमा गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिनापछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।

सुरुमा नेपालमा संक्रमणको दर थोरै रहे पनि पछिल्लो समय परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले पनि परीक्षण बढाउनुको विकल्प नरहेको बताउँछन्। उनले परीक्षणको दायरा बढाउँदै लैजाने हो भने संक्रमित पनि बढ्दै जाने बताए।

‘जति देखियो त्यो केही मात्रा हो, संक्रमण भित्र व्यापक छ, कन्ट्याक्ट टे«सिङ र टेस्टिङ गरौं, संक्रमित पत्ता लाग्छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भने।

नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको १०६ दिनपछि संक्रमितको संख्या १०० नाघेको थियो।

गत वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो भने त्यसको ५ दिनपछि वैशाख ३० गते संक्रमितको संख्या २१७ पुगेको थियो।

सुरुमा नेपालमा संक्रमण दर न्यून रहे पनि पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ। कुल संक्रमितको संख्या १ हजार ४ सय १ पुग्दा ६ जनाको मृत्यु भइसकेको छ भने २१९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

याे पनि : आजमात्रै १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

चीनबाट नेपालमा कोरोना भित्रिएको भए पनि पछिल्लो समय भारतबाट आउने नेपालीहरु बढी संक्रमित भएको पाइएको छ।

पछिल्लो समय भारतबाट आएका र क्वारेन्टिनमा रहेका धेरैमा संक्रमित देखिएको भन्दै परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै बढ्ने विज्ञले बताउँछन्।

पछिल्लो तीन दिनको तथ्यांक हेर्दा पनि हरेक दिन बढ्दै गएको देखिन्छ।

शनिबारसम्ममा नेपालका ४७ जिल्लामा संक्रमण देखिएको छ। कोरोनाबाट सबैभन्दा बढी प्रदेश ५, २ र १ बढी प्रभावित भएका छन् भने भारतबाट ठूलो संख्यामा नागरिक भित्रिएसँगै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पनि खतराको सूचीमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .