ad ad

समाज


सरकारी अधिकारी नै भन्छन्ः कोरोनाले भन्दा उपचार नपाएर बिरामीको ज्यान गयो

सरकारी अधिकारी नै भन्छन्ः कोरोनाले भन्दा उपचार नपाएर बिरामीको ज्यान गयो

सागर न्यौपाने
जेठ १५, २०७७ बिहिबार १६:२६,

समयमा उपचार नगरेकै कारण नेपालमा कोरोनाको कारण ५ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन्।

बिहीबारसम्म कोरोनाबाट एक हजार ४२ जना संक्रमित हुँदा पाँच जनाको मृत्यु भइसकेको छ। भारतबाट नेपाल आउँदै गर्दा बाटोमै ज्यान गुमाएका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

मृतक सबैमा ज्यान गइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। कतिपयले त उपचार पनि पाएका छैनन्।

मृत्यु भएकाहरु अन्य रोेगबाट ग्रसित रहेको र उनीहरुको नमुना संकलन र त्यसको परीक्षणको रिपोर्ट समेत ढिलो आएको सरकारी अधिकारीले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले नेपालभित्र मृत्यु भएका पाँचै जनामा अन्य कुनै न कुनै रोगको संक्रमण रहेको बताए।

‘दीर्घरोगी तथा पहिले अन्य रोगको संक्रमणमा रहेका व्यक्तिहरुको मृत्यु हुँदा त्यसमा कोरोना पोजिटिभ पनि देखिएको हो,’ नेपालखबरसँग पाण्डेले भने, ‘पहिले नै परीक्षण गर्न नसक्दा मृत्युपछि मात्रै सार्वजनिक भयो।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि पहिले नै समस्या भएको व्यक्तिहरुको समयमै उपचार नहुँदा एकैपटक मृत्यु भएको बताए।

‘कोरोनाको कारण मृत्यु भएका पाँचै वटा केसलाई अध्ययन गर्दा उनीहरुमा अन्य रोगको संक्रमणको समयमै उपचार नभएको देखिन्छ,’ उनले भने।

जेठ १ गते सिन्धुपाल्चोककी बाह्रबिसे नगरपालिका राम्चेकी २९ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको थियो। सुत्केरी अवस्थाकी ती महिलाको पहिले नै फोक्सोमा असर रहेको र समयमै उपचार नगर्दा कोरोना संक्रमण समेत थपिएको डा. अधिकारीले बताए।

ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषमा पनि कलेजोसम्बन्धी रोगको संक्रमण रहेको र त्यसको समयमै उपचार हुन नसकेको उनी बताउँछन्।

‘अहिलेसम्म मृत्यु भएकाहरुलाई हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घ रोगी छन्,’ उनले थपे, ‘हाम्रो परीक्षणमा भएको ढिलाइ अर्काे कारण हो।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले लकडाउनले अस्पतालहरु बन्द हुँदा अन्य रोगीहरुले उपचार नै नपाएको बताए।

‘अरु लक्षण भएका, अन्य रोगका बिरामीहरु उपचारमा जानै पाएनन्’, बास्तोलाले भने, ‘गम्भीर प्रकृतिका बिरामीलाई कसरी उपचार गर्ने भन्नेबारे अस्पतालहरु समेत यो समयमा अन्योलमा परेका हुनसक्छन्।’

बाँकेका २५ वर्षीय युवाको समयमा उपचार नपाएकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता अधिकारीले स्वीकारे।

‘उनी कतिदिनदेखि भोकै थिए, त्यत्रो बाटो हिँडेर आएका थिए, त्यसमाथि उनलाई झाडा पखाला समेत भएको थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा छिटो उपचार पाउनुपर्थ्यो। तर, त्यसो भएन र उनको मृत्यु भयो। उनको मृत्युको मुख्य कारण कोरोना नभई अन्य संक्रमण हो।’

नेपालमा कोरोना परीक्षणको नतिजा ढिला आउनुका तीन कारण उनले औँल्याए।

‘पहिलो सरकारको परीक्षणमा नै ढिलाइ, दोस्रो, स्वास्थ्य समस्या भएका व्यक्तिहरु ढिलो अस्पताल पुगेको र तेस्रो अस्पतालबाट पनि स्वाब संकलनमा ढिलाइ भएको र प्रयोगशालामा भएको चापले नतिजा ढिलाइ आएकै कारण मृत्युपछि मात्रै कोरोना पोजिटिभ देखाएको हो,’ उनले भने।

तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले परीक्षण नै पर्याप्त हुन नसकेको बताए।

‘हाम्रो परीक्षण नै र्‍यान्डम खालको भयो’, पाण्डेले भने, ‘त्यसमा पनि गम्भीर बिरामी परेकै छैनन्।’

‘संक्रमित धेरै युवा भएकाले लक्षण कम देखियो’
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नेपालमा अहिलेसम्म कोरोना पुष्टि भएकाहरु अधिकांश युवा रहेकैले कुनै लक्षण नदेखिएको हुनसक्ने विश्लेषण गरेका छन्।

‘खासगरी युवाहरु नै संक्रमित भएका छन्, उनीहरुको रोग प्रतिरोधात्मक क्षमता उच्च देखियो भने अर्काेतिर अहिलेसम्म परीक्षण नै कम पनि भएको छ,’ डा. अधिकारीले भने।

टेकु अस्पतालका प्रवक्ता डा. बास्तोला पनि सरकारको रणनीति अनुसार परीक्षणको दायरा बढाउनुपर्ने बताउँछन्।

‘अहिलेसम्म स्थानीय तवर र समुदायमा युवाहरुको परीक्षणलाई जसरी तीव्रता दिइनुपर्थ्यो त्यसो भइसकेको छैन,’ उनले थपे, ‘कतिपय कोरोनाको लक्षण देखिएकाहरु अस्पताल पुगेकै छैनन्।’

इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोरोनाबाट मृत्यु भएकाहरुको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ।

‘अहिलेसम्म मृत्यु भएका र संक्रमित भएर लक्षण नदेखिएकाहरुको केस अध्ययन गर्नुपर्ने हुन्छ, युवाहरु नै भएपनि उनीहरुमा कुनै लक्षण नहुनुको कारण खोजी गर्नुपर्छ,’ डा. पाण्डेले भने।

देशका सबै ठाउँमा परीक्षणलाई तीव्रता दिइनुपर्ने भएपनि त्यसो हुन नसकेको उनी बताउँछन्।

उनका अनुसार नेपालमा अझै कोरोनाको परीक्षण जुन मात्रामा हुनुपर्थ्यो त्यसो भएको छैन।

नेपालमा पछिल्लो दिन भारतबाट फर्किने युवाहरुमा परीक्षण नपुगेको देखिन्छ।

‘परीक्षणको दायरा बढाऔं भनेकै छौं, कुनै लक्षण नभएपनि स्वाब दिऔं भनेपनि त्यसो भएन, नमुना संकलनमा अप्ठेरो भयो यसमा समन्वयको पनि अभाव देखियो,’ डा. पाण्डेले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .