प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनबाट भागेका कोरोना संक्रमित पुरुष फेला परेका छन्। आइतबार राति ढोका तोडेर भागेका सर्लाहीको धनकौलका ४५ वर्षीय कोरोना संक्रमित पुरुष खोजविनको क्रममा सोमबार आफ्नै घरमा फेला परेका हुन्।
उनलाई सर्लाहीबाट फेरि उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालको आइसोलेशनमा ल्याउन लागिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
मानसिक रोगी समेत रहेका ती पुरुष आइसोलेशनको ढोका तोडेर पैदलै घर भागेका थिए। यसअघि पनि ती संक्रमित पीसीआर चेक गर्न स्वाब लिने क्रममा भागेपछि प्रहरीले पक्राउ गरी पुनः आइसोलेशनमा राखेको थियो।
मानसिक रोगी ती पुरुष भर्ना भएदेखि आइसोलेशनमा होहल्ला गर्ने, जथाभावी दिशापिसाव, फर्निचर तोडफोड जस्ता अनियन्त्रित व्यवबहार गर्दै आएका थिए। उनका कारण भर्ना भएका अन्य संक्रमित बिरामीहरुले समेत असहज महसुस गरेका त्यहाँ उपचारार्थ एक संक्रमितले बताए।
भाग्ने ती संक्रमित चिकित्सक र प्रहरीका लागि टाउको दुखाइ बनेका छन्। उनले अनियन्त्रित व्यवहार गरेर अस्पताल प्रशासन लगायत प्रहरीलाई तनाव दिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नगेन्द्र यादवको भनाई छ।

प्रतिक्रिया