बढ्दो अव्यवस्थित सहरीकरण,सरोकारवाला निकायबीच समन्वय नगरी सडक खन्ने प्रवृत्तिका कारण काठमाडौँमा नदीजन्य विपदको जोखिम बढेको छ। महानगरले गरेको अध्ययनअनुसार यसवर्ष ७४ स्थान डुबान र बाढीको उच्च जोखिममा छन्।
यसपालि मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न र डुबानमा परेकालाइ उद्धार गर्न काठमाडौँ महानगरपालिकाले ४ वटा डुङ्गा तयारी अवस्थामा राखेको जनाएको छ।
पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए। उनले भने, 'कामपाको १ देखि ३२ वटै वडाका प्रतिनिधि, नागरीकसँगको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी स्थान पहिचानको काम गरेको हो।'
बागमती र अरू नदी छेउछाउको बस्ती स्थानान्तरण गरिसकेकाले यो वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा छ। 'डुबानमा परिहाले नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ', जोशीले भने, 'उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखेका छौँ।'
महानगरले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास गरेको छ। काठमाडौँ महानगरपालिकाले गरेको पछिल्लो अध्ययनअनुसार यस वर्ष मनसुनका समयमा महानगरभित्रका ७४ वटा स्थान डुबान र बाढीको उच्च जोखिममा छन्।
Shares

प्रतिक्रिया