हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्थात् नेपालमा अहिले तीन किसिमका मौसम प्रणालीको प्रभाव परिरहेको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला (बिहीबार बिहान) कोसी प्रदेशमा साधारणतया बादल, बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा कोसी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो र राति कस्तो होला मौसस?
यस्तो छ मौसम महाशाखाको प्रक्षेपण:
दिउँसो : कोसी प्रदेशसहित, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशको तराई र बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि हिमाली भेगमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराईमा भने आज तातो दिन हुने सम्भावना छ।
राति : कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको सम्भावना छ।
काठमाडौँमा मध्यमसम्म वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकामा राम्रोसँग घाम लाग्ने सम्भावना छैन।
‘मध्याह्नतिर मौसम केही खुल्ने सम्भावना देखिए पनि फेरि अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने।
बिहान पनि कपनलगायत काठमाडौँ उपत्यकाका केही स्थानमा पानी परेको थियो।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया