सुनसरीको कोशी गाउँपालिका-३, लौकहीमा नवनिर्मित आधुनिक र बहुउपयोगी ‘लौकही सिटी हल’को उद्घाटन गरिएको छ। संघीय सरकारको सहयोगमा निर्माण भएको उक्त सिटी हलको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रमा यस्तो आधुनिक पूर्वाधार निर्माण हुनु सराहनीय कार्य भएको बताए। उनले यो परियोजनालाई स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारबीचको आपसी सहकार्य र समन्वयको एउटा उत्कृष्ट उदाहरणका रूपमा चित्रण गरे।
विविधतायुक्त समाजमा आपसी एकता र सद्भाव अभिवृद्धि गर्दै स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्न यो सिटी हलले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो।
जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहनै भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षाअनुरूप सेवा प्रवाह, सुविधा उपलब्धता र विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको स्मरण गराए।
सप्तकोशी नदी र कोशी टप्पु वन्यजन्तु आरक्षसँग जोडिएको यस क्षेत्रमा निर्मित भव्य सिटी हलले कोशी प्रदेशको समग्र पर्यटकीय विकासमा समेत ठूलो टेवा पुर्याउने उनले उल्लेख गरे। सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले कोशी गाउँपालिकाको ऐतिहासिक, भौगोलिक तथा धार्मिक महत्त्वमाथि चर्चा गरे।
विगतमा प्रजातन्त्र प्राप्तिका लागि भएको क्रान्तिमा यसै गाउँपालिकामा पर्ने सप्तकोशी नदीको कुसाहा घाटको ऐतिहासिक योगदान रहेको स्मरण गर्दै उनले प्रजातान्त्रिक आन्दोलनको इतिहास पढ्दा कुसाहा घाटको नाम सधैँ अग्रपङ्क्तिमा आउने बताए।
यस्तै तत्कालीन समयमा प्रविधिको उच्चतम प्रयोगका रूपमा हेरिएको कोशी ब्यारेज निर्माण र कोशी नदी नियन्त्रणका लागि बाँध निर्माण गर्न साविकमा यस ठाउँमा ढुंगा बोक्ने रेल चलेको ऐतिहासिक प्रसंग पनि उनले उल्लेख गरेका थिए।
रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षको प्राकृतिक सुन्दरता र यस आसपासका बराहक्षेत्र धाम, रामधुनी, पिण्डेश्वर, दन्तकाली तथा बुढासुब्बा जस्ता ऐतिहासिक धार्मिक स्थलहरूको सामिप्यले गर्दा यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, स्थानीय निकायका जनप्रतिनिधिहरू र सर्वसाधारणको उपस्थिति थियो। कोशी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारीले सिटी हल निर्माणबाट पालिकावासी हर्षित भएको र यसको सही सञ्चालनमार्फत स्थानीय विकासमा टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया