देशका विभिन्न स्थानमा रहेका अस्पताल र स्वास्थ्य संस्थामा झण्डै ४५ करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको वार्षिक प्रतिवेदनमा स्वास्थ्य संस्थामा उपकरण प्रयोगविहीन रहेको उल्लेख गरेको छ। महालेखाको प्रतिवेदनमा दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन बनेको औँल्याइएको छ।
महालेखा प्रतिवेदनअनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै दश वर्षदेखि क्याथल्याब मेसिन प्रयोगमा आउन सकेको छैन। यसको मूल्य पाँच करोड ३७ लाख ८२ हजार रुपैयाँका रहेको छ। त्यस्तै, २४ करोड ७७ लाख नौ हजार को सीटी स्क्यान सिस्टम, १४ वटा भेन्टिलेटर, पाँच वटा सी आर्म मेसिन प्रयोगमा नआएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार मूल्यका पाँच वटा लिड ईसीजी केबुल तीन सय सेट प्रयोगमा आएका छ्रनन्। मधेस प्रदेशको गजेन्द्र नारायण सिंह अस्पतालमा पनि चार करोड ९० लाख ९५ हजार बराबरका उपकरण प्रयोगविहीन बनेका छन्। जसमा एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन र इलेक्ट्रोकार्डियोलोजीलगायतका उपकरण रहेका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा पनि सिंगल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायरलगायत ६० प्रकारका मेसिन प्रयोगमा आउन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाल प्रहरीको अस्पतालमा पनि केही उपकरण प्रयोगमा आएका छैनन्। जसमा १६ स्लाइस सीटी स्क्यान मेसिन, १.५ टेसलाको एमआरआई मेसिन रहेको छ।
स्वास्थ्य सेवा विभागले खरिद गरेका उपकरण पनि प्रयोगविहीन छन्। जसमा ९६५ हाइट बोर्ड र ९६५ वटा इलेक्ट्रोनिक वेट स्केल रहेका छन्। यी उपकरण ६ करोड ७३ लाख २१ हजारमा यसै वर्ष खरिद गरिएका हुन्।
यसअघि खरिद गरिएका एक हजार ३३६ वटा इलेक्ट्रोनिक वेट स्केल (मदर/चाइल्ड) पनि प्रयोगमा आएका छैनन्। जसको मूल्य ६ करोड ५३ लाख ९९ हजार रहेका छन्। विभागले नै दुई करोड ४२ लाख ५४ हजारमा खरिद गरेका सात प्रकारका १३३ वटा मेसिन, उपकरण प्रयोग नगरिएको महालेखाले जनाएको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि टेलिथेरापी मेसिन चार वर्षदेखि प्रयोगमा नआएको पाइएको छ। अस्पताल स्थपानादेखि नै यो प्रयोग गरिएको थियो।
तर, पछिल्लो चार वर्षदेखि प्रयोग नहुँदा जोखिम बढेको प्रतिवेदनमा औँल्याइएको छ। अस्पतालको बंकरमा राखिएकाले मेसिनभित्रको रेडियोधर्मी स्रोतको आयु सकिँदै गएको र यसको विकिरणको जोखिम देखिएको भन्दै महालेखाले सचेत गराएको छ।
यी उपकरण प्रयोगमा ल्याउन महालेखाले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। यससँगै देशभरका स्वास्थ्य संस्थामा रहेका उपकरणको अनुगमन गरी लगत तयार गर्न भनेको छ।
Shares

प्रतिक्रिया