कञ्चनपुरसँग जोडिएको सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका १ सय ९५ नेपाली नागरिकको उद्धार गरिएको छ।
मंगलवार मध्यराति महाकाली नगरपालिकाबाट उनीहरूलाई नेपाल प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कामको सिलसिलामा भारतका बिभिन्न शहरमा रहेका उनीहरु सीमावर्ती बजार खटिमा हुदै महाकाली नगरपालिकामा आइपुगेका थिए।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि उनीहरु सीमामै अलपत्र थिए।

भारतमा पछिल्लो समय लकडाउन खुकुलो भएपछि भारतको बिभिन्न ठाउँमा कामका लागि पुगेका नेपाली धमाधम सीमासम्म आइपुगेका छन्।
प्रशासनको समन्वयमा भीमदत्त नगरपालिकाले टिप्परमा हालेर सीमामा अलपत्र १ सय ९५ जना नेपाली नागरिकलाई महेन्द्रनगर ल्याएको हो।
उद्धार गरिएकालाई अहिले भीमदत्त नगरपालिकास्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको छ।
उनीहरुको स्वास्थ्य परीक्षणपछि सम्बन्धित ठाउँ पठाइने छ।
उद्धार गरिएकामा सबैभन्दा बढी मुगुका ४४ जना रहेका छन्। त्यस्तै दैलेखेका १८ जना छन्।
उद्धार गरिएकामा कालिकोटदेखि सप्तरीसम्मका बासिन्दा रहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया