तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक बिदा दिएको छ।
नगर प्रमुख अर्जुन माबोहाङले सूचना जारी गर्दै आगामी जेठ १ र २ गते बाँदर खेद्ने प्रयोगजनको लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
मेयर माबोहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि बिदा दिई अभियान सञ्चालन गर्न लागिएको हो।
‘बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको, रातदिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन बाध्य भएकाले बिदा दिई अभियान सञ्चालन गर्न लागिएको हो,’ सूचनामा भनिएको छ।
‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण शीर्षक अन्तर्गत वडा नम्बर ५, ६ र ८ बाट बाँदर लखेटी लालीगुराँस नगरपालिकाको सीमाना कटाउने कार्यत्रम तय भएको हुँदा सोका लागि सम्बन्धित वडाले तोकेको स्थान र समयमा सक्रियताकासाथ उपस्थिति हुनका लागि सम्पूर्ण कृषक, जनप्रतिनिधि, सबै वडाका कर्मचारी एवं नागरिक समक्ष अनुरोध गर्दछु।’

Shares

प्रतिक्रिया