ad ad

समाज


कमजोर तयारीको मार खेप्दै प्रदेश ५, क्वारेन्टिन अस्तव्यस्त, संक्रमित बढेको बढ्यै

कमजोर तयारीको मार खेप्दै प्रदेश ५, क्वारेन्टिन अस्तव्यस्त, संक्रमित बढेको बढ्यै

सागर न्यौपाने
जेठ ६, २०७७ मंगलबार १३:३५,

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि संक्रमितहरुको व्यवस्थापन र उपचार चुनौतीपूर्ण बन्दै गएको छ।

तीनै तहको सरकारले समयमै आवश्यक तयारी गर्न नसक्दा अहिले संक्रमितको संख्या बढ्नेबित्तिकै दबाब र त्रास ह्वात्तै बढेको छ। तीनै तहको सरकारले व्यवस्थापनको जिम्मेवारी लिनभन्दा अरुको थाप्लोमा दोष थोपर्दै आएका छन्।

हालसम्म पुष्टि भएका ४ सय २ संक्रमितमध्ये प्रदेश ५ मा मात्रै १ सय ७६ जना छन्। सो प्रदेशमा १ हजार १ सय ८० जनाको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ।

कोरोनाको संक्रमण तीव्र रुपमा फैलिएपछि प्रदेशले पीसीआर र आरडीटी परीक्षणको मात्रा बढाएको छ।

संक्रमित मात्रै होइन क्वारेन्टिनमा बस्नेको संख्या समेत यो प्रदेशमा सबैभन्दा बढी छ।

प्रदेशका सबै जिल्लामा ७ सय १० ठाउँमा राखिएको क्वारेन्टिनमा १४ हजार २ सय ८१ जना रहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए।

कोरोना भाइरसका संक्रमित बढेसँगै सरकारले प्रदेश २ र ५ मा थप स्वास्थ्य जनशक्ति पठाएको छ। मंगलबार १० जना डाक्टरसहितको टोली दुवै प्रदेशमा थपिएको हो।

प्रदेश ५ मा पनि विश्व स्वास्थ्य संगठनले बनाएको क्वारेन्टिन मापदण्डलाई पालना गर्न नसकेको डा. चौधरी स्वीकार गर्छन्।

‘हाम्रो क्वारेन्टिन मापदण्डमा केही गडबढ भएको छ,’ डा. चौधरीले थपे, ‘सोचेको भन्दा बढी मानिसहरु भारतबाट आउन थाले। ह्वारह्वार्ती मान्छे आएपछि हामीले आकलन गरेभन्दा संख्या बढी भयो। त्यसैले क्वारेन्टिन अव्यवस्थित भएको हो।’

क्वारेन्टिनको व्यवस्थापनको पहिलो दायित्व स्थानीय तहको भएको डा. चौधरी बताउँछन्।

‘क्वारेन्टिनको पहिलो दायित्व स्थानीय तहको हो, त्यसपछि त्यहाँ रहेका व्यक्तिहरुको पीसीआर लगायतका परीक्षण प्रदेशले गर्नेछ,’ चौधरीले भने।

अरुलाई दोष दिँदै तीनै तहका सरकार 
व्यवस्थित क्वारेन्टिन नहुँदा प्रदेश ५ मा धेरैले दुःख पाइरहेका छन्। बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टिनमा राखिएका एकजना युवकको उपचार नपाई मृत्यु भएपछि क्वारेन्टिनको व्यवस्थापनलाई लिएर संघीय संसदमा पनि प्रश्न उठेको छ।

यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ। कांग्रेसले युवकको मृत्युमा सरकार जिम्मेवार कि व्यक्ति भनेर प्रश्न गरेको थियो।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले क्वारेन्टिनमा राख्नुपर्ने मानिसको संख्या दिनदिनै बढेकाले व्यवस्थित गर्न नसकिएको बताए। प्रदेश र केन्द्र सरकारले असयोग गरेको आरोप लगाउँछन्।

‘नरैनापुर गाउँपालिकामा मात्र १३ वटा क्वारेन्टिनमा ७ सय ५९ जनालाई राखिएको छ,’ उनले भने, ‘भारतसँग सीधा सिमाना जोडिएको हुनाले गाउँपालिकामा प्रवेश गर्नेहरुको संख्या दैनिक बढिरहेको छ। न केन्द्र सरकारले सहयोग गर्छ न प्रदेश सरकारले नै सहयोग गर्छ। अब हामी व्यवस्थापन नै गर्न नसक्ने अवस्थामा पुगिसक्यौं।’

उनले क्वारेन्टिनलाई व्यवस्थित बनाउन स्रोत, साधनको अभाव रहेको बताए।

संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दबाबमा देखिन्छन्। उनले संख्या बढ्दै गएमा सबैको उपचार अस्पतालमा सम्भव नहुने बताए।

‘एउटै घरमा पनि सामाजिक दूरी र अलग अलग सामानको प्रयोग गरी बिरामीको स्याहार गरी आफू सुरक्षित हुन सकिन्छ। तर हामी अझै आइसोलेसन केन्द्र र अस्पतालमा बिरामी राखेर उपचार गर्ने योजनामा छौँ,’ मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महामारीको अवस्थामा त घरघरमै उपचार गर्नुपर्ने अवस्था आउन सक्छ।’

क्वारेन्टिन र आइसोलेसन केन्द्र बस्तीवाट टाढा र नजिक भन्ने विषयमा स्थानीय स्तरमा हुने बहसले व्यवस्थापनमा अवरोध गरेको आरोप लगाए।

‘पर्याप्त र व्यवस्थित क्वारेन्टिन र आइसोलेसनको अभावमा संक्रमण फैलने खतरा हुन्छ। हामी कहाँ भएका सिमित पूर्वाधारको अधिकतम प्रयोग गरेर नै यस महामारीविरुद्ध जुध्नु पर्ने बाध्यता छ,’ उनले भनेका छन्, ‘विभिन्न बहानामा त्यसलाई प्रयोग गर्नबाट रोक्न खोज्ने हो भने महामारीलाई रोक्न सकिँदैन।’

मंगलबार नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरबाट आइरहेका मानिसको चापले गर्दा संक्रमण दर रोक्न नसकिएको बताए।

‘जनताको दबाब, जनप्रतिनिधिको दबाब, सीमामा आएर बस्नेहरुको दबाबका कारण सीमामा आएकालाई रोक्न सकिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेसम्म पनि रोक्न सक्ने अवस्था छैन, कोरोना संक्रमण अझै बढ्छ, बाहिरबाट आउने ले नै सार्ने हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .