समाज


मकवानपुरका ४ वटा विद्यालयको एसईई नतिजा शून्य

मकवानपुरका ४ वटा विद्यालयको एसईई नतिजा शून्य

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:९, हेटाैँडा

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मकवानपुरका चारवटा विद्यालयको नतिजा शून्य आएको छ। 

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिकाका ३ विद्यालय र भीमफेदी गाउँपालिकाको एक विद्यालयमा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका हुन्।

शून्य नतिजा आउने विद्यालयहरूमा कालिका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय, माध्यमिक विद्यालय तथा पञ्चकन्या माध्यमिक विद्यालय रहेका छन्। 

कालिका माध्यमिक विद्यालयबाट ६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए भने राष्ट्रिय माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले परीक्षा दिएका थिए। यस्तै, राक्सिराङ–८ को माध्यमिक विद्यालयबाट २८ जना तथा पञ्चकन्या माध्यमिक विद्यालयबाट ६ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए। 

गत वर्ष पनि मकवानपुर जिल्लाका ७ वटा विद्यालयको एसईई नतिजा शून्य आएको थियो। 

तर मकवानपुर जिल्लाको समग्र एसईई नतिजा भने २०८२ को तुलनामा सुधार देखिएको छ। 

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार यस वर्ष जिल्लाको उत्तीर्ण प्रतिशत ५०.९९ प्रतिशत पुगेको छ। गत वर्ष जिल्लाको उत्तीर्ण प्रतिशत ४६.८६ प्रतिशत रहेको थियो।

यस वर्ष जिल्लामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्ष ५ जना विद्यार्थीले मात्रै ४ जीपीए ल्याएका थिए भने यस वर्ष १३ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्। 

उत्तीर्ण प्रतिशतसँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढ्नु सकारात्मक संकेत मानिएको छ। 

जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सुधारका प्रयास, अतिरिक्त कक्षा, नियमित अनुगमन तथा विद्यार्थी–अभिभावकको चासो बढ्दै जाँदा नतिजामा सुधार देखिएको शिक्षा क्षेत्रमा कार्यरत सरोकारवालाहरू बताउँछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad