सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउन डोजर चलाउन थालेपछि धोबीखोला करिडोरका बासिन्दाले भित्तामा लालपुर्जा टाँसेका छन्।
शनिबार धोबीखोलास्थित रुद्रमती मन्दिर नजिकैको क्षेत्रमा डोजर चलाएर संरचना भत्काइएको छ। काठमाडौँ महानगरपालिका तथा सम्बन्धित निकायले डोजर चलाउने सूचना पाएपछि धोबीखोला क्षेत्रका बासिन्दाले आफ्नो घर सुकुम्वासी बस्ती नभएको प्रमाणित गर्न घरका भित्तामा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) टाँसेर विरोध जनाएका छन्।
लालपुर्जा भएका घरधनीहरू समेत प्रभावित भएपछि सर्वसाधारणमा त्रास फैलिएको हो। स्थानीय बासिन्दाले आफूहरूसँग वैधानिक प्रमाण रहेको र अदालतको स्थगन आदेश समेत रहेको दाबी गरेका छन्।
उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको इजलासले संरचना नभत्काउन आदेश दिएको भए पनि त्यसको अवज्ञा गरिएको स्थानीय बासिन्दाको भनाइ छ। ‘हामीले मापदण्ड विपरीत भए आफैँ भत्काउँछौँ, हामीलाई समय दिनुहोस् भन्दा नगरपालिकाका कर्मचारीले माथिको आदेश छ भन्दै सुन्नुभएन,’ एक स्थानीयले गुनासो गरे।
उच्च अदालतको आदेश र जग्गाको लालपुर्जा देखाउँदा देखाउँदै पनि राज्यले बल प्रयोग गरेको उनीहरू भनाइ छ। सुकुम्वासी र कानुनी रूपमा दर्ता भएका जग्गाधनीबीच स्पष्ट पहिचान नगरी जथाभावी डोजर चलाउँदा नागरिकको सम्पतीको अधिकारमाथि प्रहार भएको भन्दै मानव अधिकारकर्मी तथा नागरिक अगुवाले पनि आलोचना गरेका छन्।
Shares

प्रतिक्रिया