समाज


झरीले भिजेपछि कीर्तिपुरका सुकुम्बासीलाई टहराभित्र टेन्ट, ९ महिनाकी गर्भवतीलाई लगियो अस्पताल

होटलमा लैजान्छौँ भन्दै टहरामा ल्याएको गुनासो
झरीले भिजेपछि कीर्तिपुरका सुकुम्बासीलाई टहराभित्र टेन्ट, ९ महिनाकी गर्भवतीलाई लगियो अस्पताल

आयुषा ढकाल
बैशाख १६, २०८३ बुधबार १७:४६, काठमाडौँ

‘यिनीहरू जस्ता सुकुम्बासी यति राम्रो ठाउँमा बस्न पाए के चाहियो र? यहाँ भनेजति पानी आउँछ, लुगा धुन–सुकाउने ठाउँको समस्या छैन, बिहान–बेलुका राम्रै खाना खान पाएका छन् क्यारे!’

सोमबार मध्यान्न कीर्तिपुरको राधास्वामी सत्संग व्यास नेपालको आश्रममा सुकुम्बासी राखिएको ठाउँमा पुग्दा त्यहाँ खटिएका एक कर्मचारीले प्याच्च भनेका थिए। उनको भनाइबाट झल्किन्थ्यो- सुकुम्बासीलाई उनले सामान्य मान्छे ठानेका छैनन्।

भित्र एउटै टहरोमा ५० परिवारलाई राखिएको थियो। कोही गर्भवती थिए, कोही केही महिनाका सुत्केरी। होटलमा राख्छौँ भन्दै ल्याएर टहरोमा थन्क्याइएको भन्दै मानिसहरू आक्रोशित थिए।

युट्युबरहरूले उल्टै ‘सुकुम्बासी खुसी छन्’ भन्दै बोलेको कुरा बंग्याएर भिडिओ हालिदिएपछि उनीहरू अझ रिसाएका थिए।

त्यसमाथि मंगलबार साँझ हावाहुरीसहित ठूलो पानी पर्‍यो।

पानीले भिजेपछि आश्रय लिएका ५० परिवार निदाउन सकेनन्। उनीहरूको बिजोग देखेर सामाजिक सञ्जालमा पनि अलिअलि विरोधको आवाज सुनियो।

त्यसैले बुधबार आश्रमको दृश्य अरू दिनको भन्दा फरक थियो।

आश्रममा हरेक परिवारका लागि ठिक्कको एउटा कोठा जत्रो टेन्ट राखिँदै थियो। सुकुम्बासीका बासिन्दा आफ्ना सामान टेन्टभित्र लगेर राख्नमा व्यस्त देखिन्थे। प्रहरी, नगर प्रहरीलगायतले सघाइरहेका थिए। कोही एकअर्कासँग गफगाफ गर्दै थिए।

बालबालिकाहरू कटेरोबाहिर खुला ठाउँमा खेलिरहेका थिए। उनीहरूलाई खेलाउन र कुराकानी गर्न मनोपरामर्शदाता आएका थिए। 

सबैलाई राम्रोसँग राख्ने भन्दै आफूहरूलाई कीर्तिपुरमा ल्याइएको तर भनेजस्तो केही पनि नभएको उनीहरूको भनाइ छ। यही ठाउँमा लामो समय बस्नुपर्ने हो कि चिन्ता अर्कोतिर छ।

गृह मन्त्रालयको तर्फबाट टेन्ट आएपछि राति सुत्न पाइनेमा उनीहरू आशावादी छन्।

सात महिनाकी गर्भवतीको आशा : सरकारले केही सहज बनाइदेला कि!
७ महिनाकी गर्भवती आस्मा पोखरेल कीर्तिपुरको आश्रममा छिन्। अचानक आफू बसिरहेको ठाउँबाट बिना गन्तव्य निस्कनु पर्दा ‘कहाँ जाने, के गर्ने’ भनेर उनी चिन्तित भएकी थिइन्। अझै पनि सरकारले आफूहरूलाई कसरी बन्दोबस्त गर्छ भन्ने कुरा मेसो नपाएको उनको भनाइ छ।

मंगलबार रातिको मुसलधारे पानी पर्दा बिजोग भएको उनले सुनाइन्। पानी आश्रमको बीच भागसम्म आइपुगेको पोखरेलले बताइन्। राति १२ बजेसम्म त आस्मा पनि सुत्न सकिनन्। उनका श्रीमान् भने राति ढिलासम्म फेरि पानी पर्ला कि भन्ने पीरले आस्माको ख्याल राख्दै जागा बसे।

पानी परेपछि बाहिरबाट किरा–छिचिमिरा पनि सुत्ने ठाउँमा आएको उनले बताइन्।

आर्थिक हिसाबले आस्मा र उनका श्रीमान् यसै पनि कमजोर थिए। अहिले बाहिर काम गर्न निस्कन नपाउँदा झन् गाह्रो भएको उनीहरूले बताए। हरेक दिन काम गरेपछि मात्र हातमुख जोर्न सहज हुने उनीहरू बस्ती भत्काएपछि कीर्तिपुरको आश्रममा छन्।

आस्मा प्रेम विवाह पश्चात थापाथलीको सुकुम्बासी बस्तीमा आएकी थिइन्। उनको माइती नुवाकोट हो। तर उनका आमाबुवा हाल इमाडोलमा बस्छन्। आमाबुवाले त्यहाँ समस्या भए आफूहरूकोमा आउनका लागि भनेका छन्। तर उता जाँदा सरकारबाट पाउने सेवा–सुविधा नपाइने पो हो कि भन्ने चिन्ता आस्मालाई छ।

‘यतै आएर बस भन्नु भएको छ ममी–बुवाले। तर यहाँ पनि बस्नुपर्छ रे। त्यही भएर गइनँ म पनि,’ आस्थाले नेपालखबरसँग भनिन्।

आश्रममा डाक्टर नै आएर गर्भवती महिलाहरूको प्रेसर जाँच गरेको र गर्भवती अवस्थामा खानुपर्ने औषधिहरू पनि दिएको आस्माले बताइन्।

सरकारले आफूहरूलाई राम्रोसँग व्यवस्थित गर्ने कुरामा आस्मा र उनका श्रीमान् आशावादी छन्। तर अचानक कुनै पनि योजना नबनाई आफूहरूलाई हटाएको कुराले निराश सुनिन्छन्।

उनी बस्तीमा आएको लगभग १७ महिना भएको थियो। गर्भवती भएको बेला यस्तो समस्या आउँदा उनीहरू दुःखी सुनिन्छन्। तर आफूलाई सकारात्मक राख्न कोसिस गरिरहेको उनको भनाइ छ।

आस्माले कक्षा १२ सम्म पढेकी छिन्। उनका श्रीमान् साइकलमा ‘फुड डेलिभरी’को काम गर्थे। तर आश्रममा आएपछि भने उनी काममा जान पाएका छैनन्। 

‘उकुस–मुकुस छ। कति दिन यसरी बस्नुपर्ने हो,’ उनले सुर्ता मान्दै भनिन्।

३ रात भुइँमा नै सुतिन् ९ महिनाकी गर्भवती सुस्मिता
सुस्मिता राइगाई ९ महिनाकी गर्भवती हुन्। उनको डेलिभरीको मिति नजिकिँदै छ। उनले बस्ती भत्काउनु भन्दा अघिल्लो दिन शुक्रबारदेखि नै असहज महसुस गरेकी थिइन्। २१ वर्षीया सुस्मितालाई डाक्टरले डेलिभरीको लागि जेठ पहिलो हप्ताको मिति दिएका छन्।

सोमबार नेपालखबरको टोली आश्रम पुग्दा सुस्मिताले ठिकसँग सुत्न नपाएको गुनासो गरेकी थिइन्।

‘एकदमै राम्रोसँग सुरक्षित राखिदिन्छौँ, केही कुरामा कमी हुँदैन भन्दै खुला लामखुट्टे आउने ठाउँमा राखेको छ। मलाई यता–उता गर्न समेत असहज हुने समयमा भुइँमा डसना ओच्छ्याएर खुला ठाउँमा सुत्नुपरेको छ,’ उनले भनेकी थिइन्।

मंगलबार भने उनलाई थापाथलीको परोपकार प्रसूति गृह सारिएको छ। हाल सुस्मिताका श्रीमान् प्रवेश र सासू उनलाई कुरेर अस्पतालमै बसेका छन्।

प्रवेशकी दिदीका अनुसार बस्तीमा आएर सरकारी मान्छेले ‘होटेलमा लान्छौँ’ भनेका थिए। एकछिनपछि होटेल फुल भयो, खाना यहाँ खाने अनि गेस्ट हाउसमा गएर सुत्ने भनेका थिए। तर ३ रात सुस्मिताले भुइँमै सुत्नुपर्‍यो।

उनको परिवारमा ६ जना छन्।

सुस्मिता विवाहपछि सुकुम्बासी बस्तीमा भित्रिएकी थिइन्। विवाहअघि उनी आफ्ना बा–आमासँग धादिङमै बस्थिन्।

जब बस्ती भत्काउने कुरा आयो, सुस्मिता र उनको परिवार निकै आत्तिएका थिए। नौ महिनाकी गर्भवतीलाई लिएर ‘अब कहाँ जाने?’ भन्ने चिन्ता थियो। श्रीमान् ज्यामी काम गरेर आफ्नो र परिवारको जीविकोपार्जन गर्थे।

४ महिनाका दुई सुत्केरी, ९ महिनाको बच्चा र एक गर्भवती (आस्मा) तथा एक ह्विलचेयरमा हिँड्ने अवस्थाका भेषराज दर्जीलाई सकेसम्म बुधबार नै होटलमा सार्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

‘क्रिटिकल केसका जो–जो हुनुहुन्छ, उहाँहरूको विवरण मागेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा थप ५ जनालाई होटलमा लगेर राख्छौँ,’ प्रधानमन्त्रीको सचिवालयले एक सदस्यले नेपालखबरसँग भने।

सो स्थानका सुकुम्बासीलाई मंगलबारसम्म बिहान र बेलुका महानगरले खाना खुवाएको थियो। दिउँसो र बिहानको चिया–बिस्कुटको व्यवस्था थियो। 

बुधबार बिहानदेखि भने राधास्वामी सत्संग व्यास नेपालको संस्थामा नै खाना बनाएर ल्याउन थालिएको छ। जुन खाना हिजो–अस्तिको भन्दा राम्रो भएको उनीहरूले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad