पोखराकी सिर्जना पौडेल केसीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले पर्वतको कुश्मा नगरपालिका-११ घर भई हाल पोखरा महानगरपालिका-५, जिरो किमि बस्ने २४ वर्षीय वसन्त केसी र पर्वतकै फलेवास नगरपालिका-९ भंगरा घर भई हाल पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्रीलाई पक्राउ गरेको हो।
दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताए।
यसअघि हत्या हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए। उनीहरूमध्ये एक मुख्य अभियुक्त शिशिर पौडेल थिए।
अहिले पक्राउ परेका नवराज शिशिरका भिनाजू हुन् भने वसन्त भाइ हुन्। उनीहरूले घटनापछि शिशिरलाई लुकाउने र भगाउने कामसमेत गरेको प्रहरीको भनाइ छ।
पोखराको पृथ्वी चोक नजिकै चैत २५ गते सिर्जनामाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी सिर्जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया