समाज


एकै दिन सात जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

एकै दिन सात जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १७:३४, काठमाडौँ

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।

नेपाल प्रहरीले आज जारी गरेको बुलेटिन अनुसार सात वटा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा सो संख्यामा नागरिकले ज्यान गुमाएका हुन्।

दुर्घटनामा दुई जना व्यक्ति घाइते भएका छन्।

मोरङ, कानेपोखरी गाउँपालिका–५ जहदास्थित सडकमा मे।१ त ६७८७ नम्बरको ट्याक्टरले बा।३९ प ४३३३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय मनोज कार्कीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।  

झापा, कनकाई नगरपालिका–४ कोटिहोमस्थित सडकमा दुर्गापुरबाट माईखोलातर्फ जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरको सहचालक सोही नगरपालिका–१ बस्ने २५ वर्षीय बिनोद दनुवारको सोमबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। 

सुनसरी, कोसी गाउँपालिका–८ भण्टाबारीस्थित सडकमा वीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ३८६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मो. मोख्तार मियाकी छोरी ५ वर्षीया असियाना खातुनको सोमबार दिउँसो मृत्यु भएको  छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सुनसरी इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। 

बाँके, खजुरा गाउँपालिका–४ पार्वतीपुरस्थित सडकमा मप्र०३–०३९ प ४२२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–४ पार्वतीपुर बस्ने ३२ वर्षीय कमल विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो।  

दाङ, गढवा गाउँपालिका–५ बाँकीस्थित सडकमा गढवादेखि गोबरडिहातर्फ जाँदै गरेको रा२ प ३९७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–५ बाँकी बस्ने ५६ वर्षीय राम स्वरूप यादवको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। 

बागलुङ, बरेङ गाउँपालिका–२ घट्टस्थित सडकमा सुडाला बजारदेखि घट्टतर्फ जाँदै गरेको ध१ त ६१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका–३ बाटाकाचौर बस्ने २९ वर्षीय राजकुमार सार्कीको मृत्यु भएको छ। सोमबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। 

मनाङ, नासोँ गाउँपालिका–३ धारापानीस्थित सडकमा वेशीसहरबाट सिनोहाईड्रो मनाङतर्फ आउँदै गरेको बाप्र०६–००१ क ०४६१ नम्बरको ट्रक अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक लमजुङ मर्स्याङदी गाउँपालिका–९ बस्ने ३७ वर्षीय कुस गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad