पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयकी एक छात्राले विद्यालयमै शिशु (छोरी)लाई जन्म दिएकी छन्।
कक्षा ११ मा अध्ययनरत १८ वर्षीया ती छात्राले यही चैत ११ गते विद्यालयकै शौचालयमा शिशुलाई जन्म दिएकी हुन्।
उनी अविवाहित रहेको विद्यालय प्रशासनले जनाएको छ। अविवाहित छात्राले विद्यालयमै शिशु जन्माएको घटनाले स्थानीय समुदाय र यहाँको शैक्षिक वृत्तमा व्यापक चर्चा र चासो पैदा गरेको छ।
घर टाढा भएका कारण विद्यालयले व्यवस्था गरेको कोठामा साथीहरूसँग बस्दै आएकी ती छात्राले आफ्नो गर्भावस्था लुकाएर राखेको पाइएको छ।
सँगै बस्ने साथीहरू, शिक्षक तथा विद्यालय प्रशासनलेसमेत उनको अवस्थाबारे कुनै सुइँको नपाएको दाबी विद्यालय प्रशासनले गरेको छ।
अचानक शौचालयमै सुत्केरी व्यथा लागेपछि उनले त्यहीँ बच्चा जन्माएकी थिइन्। त्यसपछि मात्र घटना बाहिरिएको हो।
केही दिनअघि उनले पेट दुखेको भन्दै विद्यालयबाट सिटामोलसमेत लिएकी थिइन्।
विद्यालयका प्रधानाध्यापक झपेन्द्र ज्ञवालीले घटना पुष्टि गरे।
‘शिशु जन्मिएपछि हामीले छात्रालाई तत्काल अभिभावकको जिम्मा लगाइएका छाैँ,’ नेपालखबरसँग भने, ‘उनी गएको भदौपछि बिद्यालयमा आएकी थिइन्। मोटाएको देखेपछि एकपटक सोधपुछ गर्दा उनले केही होइन भनेकी थिइन्। उनी अविवाहित रहेकाले हामीले धेरै चासो पनि गरेनौँ।’
टाढाको बिद्यार्थीहरुको लागि विद्यालय बस्ने कोठाकोसमेत व्यवस्था गर्दै आएको छ।
‘उनीहरूबीचको सम्बन्ध विद्यालयभन्दा बाहिरको हुनसक्छ। त्यसको जिम्मा विद्यालयको हुँदैन। शनिबार र बिदाको समयमा उनीहरु कहाँ जान्छन्, के गर्छन्, सबै कुरामा विद्यालय जवाफदेही हुन सक्दैन। यो विषयमा हामीलाई दोष थोपर्न मिल्दैन’ प्रअ ज्ञवालीले भने।
ती किशोरी बस्ने कोठामा ४ जना र अर्को कोठामा ३ जना गरि ७ जना कक्षा ११ र १२ मा पढ्दै आएका छात्रा बस्दै आएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष चित्रबहादुर थापाका अनुसार, छात्राको शरीर मोटो देखिने भएकाले गर्भवती भएको कसैले अनुमान गर्न सकेका थिएनन्।
शिशुको जन्म भएपछि गरिएको धखोजको क्रममा ती छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको बताएकी छन्।
तर, उनले भनेका युवक हाल विद्यालय उपस्थित छैनन्। ती युवकका अभिभावकले भने जिम्मेवारी स्वीकार गरेको दावी विद्यालय प्रशासनले गरेको छ।
घटना बाहिरिएपछि विद्यालयमा हलचल मच्चिएको छ। बालमैत्री कार्यक्रम सञ्चालन हुँदै आएको विद्यालयमै यस्तो घटना हुनुले थप प्रश्नहरू उठाएको छ।
Shares

प्रतिक्रिया