समाज


सातै प्रदेशमा ठुलै वर्षाको सम्भावना, चट्याङ, असिना र हुरीको खतरा

सातै प्रदेशमा ठुलै वर्षाको सम्भावना, चट्याङ, असिना र हुरीको खतरा

नेपालखबर
चैत ६, २०८२ शुक्रबार ८:३१, काठमाडौँ

आज (शुक्रबार) सबै प्रदेशमा मेघगर्जन, चट्याङ, असिना तथा हुरीसहित पानी पर्ने र कतिपय स्थानमा ठुलो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। 

त्यसो त अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा सुरु भइसकेको मौसम महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी प्रदेशलगायत कोसी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, मधेसलगायत कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिना/हुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ।

यस्तै दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।

यस्तै आज राति पनि कोसी, मधेस, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थान, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ/असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ।

यसैबिच आज साँझपख काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी मौसम महाशाखाले दिएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भयो भने मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ। 

यस्तै २४ घण्टाभित्र १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा तथा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको मानिने मौसमविद् बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad